जनकपुरका मेयर साहलाई ‘महामूर्ख’ उपाधि
जनकपुरधामका प्रमुख मनोजकुमार साहलाई यो वर्षको महामूर्ख घोषणा गर्दै मिथिला नाट्यकला परिषद् (मिनाप) को चर्चित महामूर्ख सम्मेलन मंगलबार सकिएको छ । साहलाई तरकारीको कलात्मक माला, प्रशस्तिपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
महामूर्ख सम्मेलनमा पत्रकार ऋषि धमलालाई पटमूर्खको उपाधि दिइएको छ । महोत्तरीको मठिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, पूर्वडिभिजनल इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपौरशंख, याज्ञवल्क्य संस्कृत विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झालाई लोढाशंकर, अधिवक्ता रेखा झालाई मनटुटिया, राजनीतिकर्मी विभा ठाकुरलाई गणपसारैन, बास्केटबलका पूर्वराष्ट्रिय खेलाडी अरुण लाललाई खपसुरता, पत्रकार वीरेन्द्र रमणलाई सोंटाचन्द्र, साहित्यकार किरण झा रश्मिलाई टुनमुसरी, व्यवसायी बलराम साहलाई बज्रकीट, मोनास्टिक आवासीय विद्यालयका प्रिन्सिपल सोनुकुमार साहलाई बज्रकीट तथा वन मन्त्रालयका अधिकृत लालबाबु यादवलाई हराशंखको उपाधि प्रदान गरिएको छ ।
साहले ‘महामूर्ख सम्मान’ अविस्मरणीय रहेको बताए । ‘यसले मेरो जिम्मेवारी अझ बढाएको छ । मिथिला संस्कृतिको जगेर्ना गर्न काम गर्नुपर्छ भन्ने प्रेरणा दिएको छ,’ साहले भने । जनकपुरमा फागु पूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजना गरिन्छ । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष महामूर्खसहित विभिन्न व्यंग्यात्मक पद्वीबाट सम्मान गर्ने चलन छ । महामूर्ख तथा अन्य उपाधि पाउनेलाई मिथिलामा उत्पादन गरिएका तरकारीको माला बनाएर लगाउने प्रचलन छ । मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव, मिनाप अध्यक्ष प्रमेश झा, पूर्वअध्यक्षहरू सुनील मिश्र, सुनील मल्लिक, मदन ठाकुरसहित मिनापका पदाधिकारीले उपाधि पाएकालाई सम्मान गरेका थिए ।इकान्तीपुरबाट साभार ।






