रूस–चीन मित्रता बलियो, अमेरिकालाई चिनियाँ चेतावनी– विरोधी कदम नरोकिए टकराव हुन्छ

जनपत्र
२४ फाल्गुन २०७९, बुधबार ०६:५६

के आगामी दिनमा विश्वका दुई महाशक्ति चीन र अमेरिकाबीच टकराव हुन सक्छ रु चिनियाँ सरकारलाई विश्वास गर्ने हो भने यसको सम्भावना निरन्तर बढिरहेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री चिन गाङले मंगलबार विभिन्न आरोप लगाएर अमेरिकालाई ‘कठघरा’मा हाल्ने प्रयास गरेका छन् ।

चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाले आफ्नो देशलाई ‘रोक लगाउने, घेरा हाल्ने र दबाउन खोजेको’ आरोप लगाएका छन् । जसका कारण चीनका सामु धेरै चुनौतीहरू खडा भएका छन् ।

चीनका विदेशमन्त्री चिन ग्याङले दुई देशबीचको सम्बन्ध खराब हुनुको कारण अमेरिकी नीतिहरू दोषी रहेको बताएका छन् । उनले चेतावनीको भाषामा भनेका छन्, “अमेरिकाले आफ्ना कदमहरु नरोकेमा द्वन्द्व हुन सक्छ ।”

अर्कोतर्फ चीनले रूससँगको व्यापार सम्बन्धमा महत्वपूर्ण निर्णय भएको जानकारी दिएको छ । अब अमेरिकी डलर र युरो दुई देशबीचको व्यापारमा प्रयोग हुने छैन ।

तर, चीनले रूससँगको बढ्दो निकटताबारे पनि स्पष्ट पार्दै यो ‘गठबन्धन’ नभएको बताएको छ । यो कसैको विरोध गर्न र तेस्रो पक्षलाई लक्षित गर्न नभएको उसले प्रष्ट पारेको छ ।

सी जिनपिङको अमेरिकामाथि ‘सीधा हमला’

चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाको नेतृत्वमा रहेका पश्चिमी मुलुकले चीनलाई ‘रोक्ने’ र ‘दबाउने’ प्रयास गरिरहेको आरोप लगाएका छन् । यसले चीनको प्रगतिका लागि अभूतपूर्व चुनौतीहरू खडा गरेको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सी जिनपिङले विगत पाँच वर्ष ‘अत्यन्तै असाधारण र अभूतपूर्व’ रहेको पनि बताएका छन् । उनले विकासको दृष्टिले चीन बाहिरको वातावरण द्रुत गतिमा परिवर्तन भइरहेको बताए ।

चिनियाँ विदेशमन्त्रीले के भने ?

चीनका विदेशमन्त्री चिन ग्याङले पनि चीनको ‘उत्थान रोक्न’ अमेरिकी प्रयास सफल नहुने बताए । चिनियाँ संसद्को सत्रको छेउमा आफ्नो पहिलो वार्षिक पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्रीले चीनले आफ्नो मूल हितको दृढताका साथ रक्षा गर्ने बताए ।

चिन ग्याङ डिसेम्बरमा वाङ यीको स्थानमा विदेशमन्त्री बनेका थिए । उनले आधिपत्य स्थापित गर्ने प्रयास, अवरुद्ध राजनीति र एकपक्षीय प्रतिबन्धको चीनले विरोध गर्ने बताए ।

बेलुनको विवादमा चिनियाँ विदेशमन्त्रीले के भने ?

उनले अमेरिकाको आकाशमा उडिरहेको मानवरहित चिनियाँ बेलुनलाई अमेरिकी लडाकु विमानले खसालेको हालैको घटनाको पनि उल्लेख गरे । उनले अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको र यसलाई पतन गर्न अनावश्यक बल प्रयोग गरेको आरोप लगाए ।

चीनका विदेशमन्त्रीले ताइवानको विषयमा पनि बोलेका थिए । चीनका परराष्ट्रमन्त्रीले ताइवानसँग सम्बन्धित प्रश्नको समाधान चिनियाँ जनताले नै निकाल्नुपर्ने बताए । यसमा अरु कुनै देशले हस्तक्षेप गर्न नहुने उनले बताए ।

उनले ताइवान चीनको अविभाज्य अंग भएको बताए । उनले अमेरिकाले युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको कुरा गर्दा चीनको सार्वभौमसत्ताको सम्मान किन नगर्ने भन्दै प्रश्न गरे ।

ताइवानसँग सम्बन्धित प्रश्नमा उनले ताइवान स्ट्रेटको दुवै छेउको क्षेत्र एउटै परिवारको हिस्सा भएको बताए । चीनका विदेशमन्त्रीले दुवै पक्षका जनता दाजुभाइ र दिदीबहिनी भएको बताए ।

डलर–यूरोबाट चीन–रूसको दूरी

मंगलबार केही महत्वपूर्ण निर्णय गर्दै चीनले रूससँगको सम्बन्धलाई थप मजबुत बनाउने संकेत गरेको छ । यीमध्ये सबैभन्दा महत्त्वपूर्ण निर्णय भनेको अमेरिकी डलर र युरोलाई दुई देशबीचको व्यापारमा प्रयोग नगर्ने हो ।

यस्ता निर्णयबाट पनि चीनले अमेरिकालाई कडा संकेत दिने प्रयास गरेको छ ।

चीनका विदेशमन्त्रीले चीन र रूसले अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा राम्रो उदाहरण बसाइरहेको बताए । दुई देशबीचको घनिष्ट द्विपक्षीय सम्बन्धलाई शीतयुद्धको दृष्टिकोणबाट हेर्नु उचित नहुने उनले बताए ।

चीन र रूसबीचको व्यापारमा अमेरिकी डलर र युरो प्रयोग नगर्ने निर्णयबारे सोधिएको प्रश्नमा चिनियाँ विदेशमन्त्री चिन ग्याङले चीनले प्रभावकारी, सुरक्षित र भरपर्दो मुद्रा प्रयोग गर्ने बताए । “मुद्रालाई एकतर्फी प्रतिबन्ध लगाउनको लागि ट्रम्प कार्डको रूपमा प्रयोग गर्नु हुँदैन,” उनले भने ।

रूसी मिडिया रिपोर्टका अनुसार गत महिना पहिलोपटक चिनियाँ मुद्रा युआन अमेरिकी डलरलाई पछि पार्दै रूसी बजारमा सबैभन्दा बढी कारोबार हुने मुद्रा बनेको छ । युआनले बजार कारोबारको करिब ४० प्रतिशत हिस्सा ओगटेको छ भने अमेरिकी डलरको हिस्सा ३८ प्रतिशतभन्दा अलि बढी छ ।

युक्रेन युद्धले घेरिएको अमेरिका

चीनका विदेशमन्त्रीले युक्रेन युद्धको बारेमा पनि कुरा गरेका छन् । उनले युक्रेन संकटले युरोपको सुरक्षासँग सम्बन्धित समस्यालाई अगाडि ल्याएको बताए । यसका पछाडि ‘अदृश्य हात’ देखिएको उनको भनाइ छ, जसले संकटलाई तान्न खोजेको देखिन्छ ।

चिन ग्याङले युक्रेन संकट एउटा मोडमा पुगेको बताए । यसलाई समाधान गर्न शान्ति र संवाद आवश्यक भएको उनको भनाइ छ । उनले शान्ति वार्ताको प्रक्रिया तत्काल सुरु गरेर सबै पक्षको चासोलाई ध्यान दिनुपर्ने बताए ।

‘चीनको वर्तमान नीति जारी रहनेछ’

कोभिड–१९ को अवस्थामा सुधार आएपछि चीनले अन्य देशसँग सम्पर्क बढाएको छ । चीनले ‘कूटनीतिक गतिविधि’को गति बढाएको छ ।

चीनका विदेशमन्त्री चिन ग्याङले आफ्नो देश कुनै पनि ‘आधिपत्य’को प्रयास र ‘शक्ति राजनीति’ विरुद्ध रहेको बताएका छन् । चीन शीतयुद्ध जस्तो मानसिकता, गुटबन्दीमा आधारित टकराव, नियन्त्रण वा दमनको विरुद्धमा रहेको उनको भनाइ छ ।

चीनको कूटनीतिमा ‘दया र सद्भाव’को कमी नभएको भन्दै उनले चिनियाँ कूटनीतिज्ञहरूसँग ‘आफ्नो मातृभूमिको रक्षा’ गर्न ‘ब्वाँसाहरू’विरुद्ध लड्नुको विकल्प नभएको बताएका छन् ।

चीनका विदेशमन्त्रीले चीनले सुरक्षा र विकाससँग सम्बन्धित आफ्नो हितको रक्षा गर्ने बताए । उनले चीनले पुराना मित्रहरूसँगको सम्बन्धलाई कायम राख्ने मात्र नभएर अझ मजबुत बनाउने बताए । (बीबीसी हिन्दीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*