‘हेटौंडाको ओम्याक्स हलमा छक्कापञ्जा ४’ फिल्म हेर्नेको भीड, देशैभरी चार दिनमा ६ करोड हाराहारीमा कमाइ

हेटौंडा । हेटौंडाको ओम्याक्स हलमा छक्कापञ्जा ४’ फिल्म हेर्नेको निकै भीड लागेको छ । हिजो होलीको दिन मात्र नभएर आज पनि उत्तिकै भीड लागेको हो । तीन वटा सोमा फिल्म हेर्नहरुको निकै लर्कोनै लागेको हेटौंडाको ओम्याक्स हलको व्यावस्थापन पक्षले जनाएको छ । ओम्याक्स हलमा यो फिल्म चलेदेखिनै हेर्न आउने दर्शकहरुको भीड लागेको हो ।
फिल्म ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । १४० हलमा प्रदर्शन भइरहेको फिल्मले प्रदर्शनको चार दिनसम्म ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । सुरुवाती दुई दिनमा तीन करोड कमाएको फिल्मले सोमबार होलीको बिदामा डेढ करोडभन्दा बढी ग्रस कमायो ।
आइतबार मात्रै फिल्मको कमाइ झण्डै एक करोड हाराहारीमा रह्यो । वितरण कम्पनी ब्यांकटेसले चार दिनमा फिल्मको कमाइ झण्डै ६ करोड हाराहारीमा रहेको जनाएको छ । वितरक मनोज राठीले अनलाइनखबरसँग भने, ‘छक्कापञ्जाको कमाइलाई एउटा लहरको रुपमा हेर्नुपर्छ । यसको कमाइ तत्कालै रोकिने छाँटकाँट देखिंदैन ।’
मंगलबार तराई–मधेशमा हुने होलीपर्वको बिदामा फिल्मले देशव्यापी ७० लाख र बुधबार नारी दिवसको बिदामा पनि फिल्मले कम्तीमा एक करोड ग्रस गर्ने पक्का छ । यो ट्रेन्ड हेर्दा फिल्मको पहिलो साताको कमाइ आठ करोड हाराहारीमा पुग्ने देखिन्छ । ‘छक्कापञ्जा ४’को यो कुल कमाइमा मल्टिप्लेक्सको हिस्सा ७० प्रतिशत देखिन्छ । काठमाडौंसहित मोफसलका मल्टिप्लेक्स र सिंगल स्क्रिनमा फिल्मले उछाल कमाइ गरिरहेको छ ।
बुधबार नारी दिवसको छेकोमा रणवीर कपुर स्टारर बलिउड फिल्म ‘तु झूठी मैं मक्कर’ रिलिज हुँदैछ । नयाँ फिल्म रिलिज भएपनि ‘छक्कापञ्जा’को वेभलाई यसले असर पार्ने देखिंदैन, किनभने हल सञ्चालकले ‘छड्के २’को शोलाई कटौती गरेर यो हिन्दी फिल्मलाई दिइरहेका छन् । मल्टिप्लेक्सले छड्के २ को शोमा भारी कटौती गरेका छन् । बुधबार मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले छड्के २ लाई सिभिल मलमा एक शो मात्र दिएको छ ।
दीपकराज गिरी र दीपाश्री निरौलाको शीर्ष भूमिका रहेको कमेडी तथा पोलिटिकल ड्रामा ‘छक्कापञ्जा ४’लाई हेमराज बीसीले निर्देशन गरेका हुन् । निर्माता तथा अभिनेता गिरीले टिकट नपाइएको भन्दै शो थप्नुपर्ने मागसहितका टेलिफोन आइरहेका बताएका छन् ।
‘जहाँ विधि चल्दैन, त्यहाँ थप्पड चल्छ ।’ नेपालको राज्य प्रणालीको निर्वस्त्र चरित्र हो यो । घरबारीको बाँझो फुटाएर किसानी गर्छु भन्नेलाई विचौलियाले चुस्छ, केही उद्यम गर्छु भनी दौडधूप गरिरहेकालाई वित्तीय संस्थाले पजल खेलाए झैं खेलाउँछ, कुनै कागजी प्रक्रिया मिलाउन भनी अड्डा धाउनेलाई सरकारी कर्मचारीले प्रक्रियामै अल्झाइरहन्छ, केही नलागेर श्रम बेच्न विदेश जान्छु भन्नेलाई दलालले फनफनी घुमाइरहन्छ ।
उपाय नास्ती भएपछि के हुन्छ ? क्रोधको जन्म हुन्छ । र क्रोधको सबैभन्दा तोडिलो भाषा हो, थप्पड । भलै ‘थप्पड’ विधिसम्मत जवाफ होइन । तर विधि नै बिग्रिएपछि त्यहाँ अरु प्रक्रियाहरु लाचार बन्छन् । अनि थप्पडको ध्वनि चर्को हुन्छ । ‘थप्पडदेखि थपडीसम्म’को मनोसामाजिक उद्वेग र औचित्य खोजीमा फन्को लगाउँछ, प्रदर्शनरत चलचित्र ‘छक्कापञ्जा ४’ ।
दीपकराज गिरी र दीपाश्री निरौलाकृत ‘छक्कापञ्जा’को अघिल्लो शृंखला झैं यसमा पनि हास्य-विनोदको कथानक विस्तार गरिएको छ । सन्देह रहेन, चलचित्रको मूल धरातल राजनीति र राज्य संयन्त्र नै हो । तर त्यसको आयाम भने पारिवारिक बिकार, बदला र विचलनमा तन्किएको छ ।
अब लागौं यसको कथातर्फ ।
चलचित्रको कथानक परिदृश्य पञ्चायतकालीन ग्रामीण समाजबाट हुन्छ, जहाँ निर्भय सिंहको राजनीतिक रवाफ छ । त्यसैको बलमा उनले आफूलाई समाजको केन्द्रमा राखेका छन् नै, व्यक्तिगत लाभका लागि छक्कापञ्जा पनि चालु राखेका छन् । जस्तो, गोबरगणेश छोरोलाई एसएलसीमा कीर्ते परीक्षाबाट सर्वोत्कृष्ट बनाउनु ।
यस्तै पारिवारिक पृष्टभूमिमा हुर्किएका छोरो दिग्विजय सिंह स्वभावतः गुण्डागर्दीमा लीन छन् । उनको यो अराजक शैली आफ्नै पिताको राजनीतिक विरासतका लागि भने खतराको घण्टी बनेको छ ।