चुनावमा चिनियाँ हस्तक्षेपबारे क्यानडाले छानबिन गर्ने

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोेले चुनावमा चिनियाँ हस्तक्षेप भएको बारेमा छानबिन गर्ने बताउनुभएको छ । हालकैका चुनावमा चिनियाँ हस्तक्षेप भएको आरोप लागेपछि प्रधानमन्त्री ट्रुडोले त्यसबारेमा छानबिन गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
क्यानडाका विपक्षी दलहरूले यस विषयमा स्वतन्त्र छानबिनको माग गरिरहेका थिए । छानबिनका लागि ट्रुडोले नियुक्त गर्ने अनुसन्धानकर्ताहरुले सन् २०१९ र २०२१ को आम चुनावसँग सम्बन्धित गोप्य प्रतिवेदनहरूको समीक्षा गरी आउँदो चुनावका लागि सुझाव दिने बीबीसीको खबरमा उल्लेख छ । यता क्यानडाका विपक्षी दलहरूको आरोपको खण्डन गर्दै चीनले चुनावमा कुनै पनि हस्तक्षेप नभएको बताएको छ ।
चीनले चुनावमा हस्तक्षेपका दाबीहरूलाई पूर्णतया निराधार र अपमानजनक भनेको छ । पत्रकारहरूसँग कुरा गर्दै ट्रुडोले लामो समयदेखि चुनावमा हस्तक्षेप गर्न चीन, इरान र रुसले गरेको प्रयासबारे क्यानडा सचेत रहेको र यो कुनै नयाँ समस्या नभएको बताउनुभयो ।






