मिसन ग्रासरुट : एमाले नेतृत्वले सामना गर्नुपर्ने केही प्रश्न

जनपत्र
२३ फाल्गुन २०७९, मंगलवार ०८:५९

नेकपा एमालेले फागुन ५ गतेदेखि पार्टीको शुद्धीकरण, सुदृढीकरण र विस्तारका लागि दुईमहिने मिसन ग्रासरुट अभियान चलाइरहेको छ । पार्टी संगठनका तमाम विकृति र विसंगतिलाई अन्त्य गरी पार्टी कमिटीलाई व्यवस्थित, चुस्त-दुरुस्त बनाउने र व्याप्त कमजोरीहरूलाई सुधार गर्दै एमालेको आकार र आयतन बढाउने उद्देश्यले एमालेले यो मिसन थालेको छ ।

यो मिसन विशेषगरी पार्टी कमिटीको तल्लो तहका कार्यकर्ताका बीचमा पुग्ने भएकाले आम कार्यकर्ताले एमाले नेतृत्वप्रति थुप्रै प्रश्न उठाउने अवस्था देखिंदैछ ।

पार्टीमा दक्षिणपन्थी अवसरवाद र दलाल पूँजीवादी प्रवृत्ति बढेको, अनुशासनहीनता र अराजकता मौलाएको, नीतिगत र वैचारिक चेतना स्तर खस्किंंदै गएको र नयाँ परिस्थितिका चुनौतीको सामना गर्न पार्टीपंक्ति अक्षम भएको भन्दै ‘मिसन ग्रासरुट’ अभियानमा नेतृत्वसँग तल्ला तहका कार्यकर्ताले जिज्ञासा उठाउने र प्रश्न गर्ने संभावना प्रबल छ ।

यतिबेला नेकपा एमाले आन्तरिक र बाहृय दुवै कारणले तमाम समस्यामा फसेको छ । पार्टीमा सांगठनिक, वैचारिक, नीतिगत र व्यावहारिक लगायत तमाम समस्या छन् । एकातिर पार्टीभित्रै विकृति, अनुशासनहीनता र अराजकता बग्रेल्ती बढेका छन् भने अर्काेतिर चौतर्फी घेराबन्दीले झन् समस्यामा परेको छ ।

खासगरी २०७५ सालको एकीकरणपछि पार्टीमा विकृति र विसंगति बढेका हुन् । नेताहरूबीच व्यक्तिगत महत्वाकांक्षा र पदीय हानथाप बढ्दै जाँदा त्यतिबेलादेखि नै पार्टीका नियमित बैठक, कार्यक्रम र छलफल भएनन् । कम्युनिस्ट क्रान्तिकारी स्पिरिट, ऊर्जा अनि नागरिकका समस्याको चिन्तन हराउँदै गयो । कम्युनिस्ट आचरण, विचार र सिद्धान्तको आदर्श समाप्त भयो । पार्टी नेतृत्व, कार्यकर्ता र आम नागरिकबीचको आत्मीयता र अन्तरसम्बन्ध टुट्दै गयो । कार्यकर्ता लाखापाखा हुँदै गए । जसको भरणपोषण अद्यापि हुनसकेको छैन । यसपटक नेतृत्वसँग ग्रासरुटका कार्यकर्ताले यसको कारण खोज्नेछन् ।

आज पनि नेकपा एमालेमा पार्टीमा योगदान गरेका असली कम्युनिस्ट नेता-कार्यकर्ताहरू पछाडि पारिएका छन् । गुण्डा, डन, दलाल, कमिसनखोर र पूँजीपतिहरूको चंगुलमा पार्टी फसेको छ । तिनैको बोलवाला र स्वार्थअनुरूप पार्टीका गतिविधि सञ्चालन हुन लागेका छन् । सिङ्गो पार्टी माथिदेखि तलसम्म पूँजीवादी वा बुर्जुवा पार्टीका रूपमा परिणत हुँदैछ । जनवादी आदर्श, चिन्तन र विचार भुत्ते भएको छ । हिजोका अप्ठेरा दिनहरूमा पार्टीलाई बचाउने, संगठन गर्ने र जनताबीच स्थापित नेता-कार्यकर्ताले न चुनावमा टिकट पाउन सक्छन् न त जित्ने अवस्था नै छ । यस्तो प्रवृत्ति र अवस्थाको अन्त्य कहिले हुनेछ भनेर ग्रासरुटका कार्यकर्ताले एमाले नेतृत्वसँग प्रश्न गर्नेछन् ।

अझै पनि नेकपा एमालेका थुप्रै नेता आफ्नो सिद्धान्त, विचार र व्यवहारबाट निरन्तर स्खलित भइरहेका छन् । तिनै नेताहरूका व्यवहार र शैलीका कारण आम कार्यकर्ता असन्तुष्ट बन्दै गएका छन् । फलतः कम्युनिस्ट नेतृत्व र आन्दोलनप्रति नै चिन्ता, निराशा र आक्रोश बढ्दै गएको छ ।

एमालेका धेरैजसो केन्द्रीय नेताहरू यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा गएर ढुक्कले संगठन निर्माणमा गाउँ बस्ने अवस्था अझै बन्न सकेको छैन । स्थानीय कार्यकर्ता र आम नागरिकहरू तत्-तत् क्षेत्रका नेताप्रति असन्तुष्ट छन् । आफ्नै नेताप्रति तमाम गुनासा र विरोध छन् । सायद यही वास्तविक परिस्थिति र सांगठनिक यथार्थलाई बुझेर पार्टीले यतिखेर नेताहरूलाई आफ्नो क्षेत्रभन्दा फरक-फरक क्षेत्रमा खटाएको हुनुपर्छ ।

नेकपा एमाले कुनै बेला अत्यन्तै शक्तिशाली पार्टी थियो । संगठनात्मक र संख्यात्मक हिसाबले अहिले पनि नेकपा एमालेमा करिब ११ लाख संगठित सदस्य छन् । तर, चुनावी परिणाम भने सधैं अनपेक्षित र निराशाजनक छ । त्यत्रो विशाल सांगठनिक संरचना, लाखौं सक्रिय कार्यकर्ता हुँदाहुँदै पनि स्थानीय र संघीय निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न सकेन । यसको पनि सूक्ष्म समीक्षा गर्न मिसन ग्रासरुट चलाइएको हुनुपर्छ ।

कतिपय आफ्नै कारण र कतिपय चौतर्फी घेराबन्दीका कारण सबैतिर प्रतिपक्षमा पुगिसक्दा पनि एमाले नेतृत्वको कार्यशैली र अभिव्यक्तिमा भने कुनै परिवर्तन देखिएको छैन । न सत्ताच्युत हुनुपरेकोमा पछुतो देखिन्छ, न त पार्टी विभाजन भएकोमा चिन्ता नै । देशभरको पार्टी संगठनमा ठूलो क्षति पुगेको भए पनि आफ्नो शक्तिप्रतिको फगत दम्भ र कार्यशैली जस्ताको त्यस्तै छ । मिसन ग्रासरुटमा कार्यकर्ताले यसबारेमा पक्कै आवाज उठाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*