राष्ट्रियताकाे कुरा गर्दा कसैले चित्त नदुखाए हुन्छ : अध्यक्ष ओली

जनपत्र
२१ फाल्गुन २०७९, आईतवार १९:२७

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्र र नागरिककाे हित विपरीत चल्न खोजे सह्य नहुने चेतावनी दिनुभएको छ । उहाँले राष्ट्र र नागरिककाे हित विपरीत चल्न खोज्ने सरकारका कुनै पनि गतिविधिलाई आफूहरूले सफल हुन नदिने बताउनुभयो ।

सुखानीका शहीदहरूको स्मृतिमा आइतवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूहरूले राष्ट्रियताको कुरा गर्दा कसैले चित्त नदुखाए हुनेसमेत बताउनुभयो । राष्ट्रको स्वाधीनता र स्वाभिमानमाथि अतिक्रमण गरिए वा होच्याउने काम गरिए आफूलाई स्वीकार्य नहुने उहाँको भनाइ थियो ।

सत्ता समर्थक दलहरूले सत्ता स्वार्थको राजनीति गरिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूहरू भने राष्ट्र र नागरिककाे हितका लागि काम गरिरहने आश्वासन दिनुभयाे । उहाँले सत्ता स्वार्थको राजनीति गर्दा देश डुब्छ भने, यहाँको भूगोलमाथि अतिक्रमण हुन्छ भने त्यसमा टुलुटुलु हेरेर बस्ने नसकिने प्रतिक्रिया दिनुभयाे ।

ओलीले भन्नुभयो, ‘हामी हाम्रो राष्ट्रियता, राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रतालाई प्यारो गर्दछौँ । भौगोलिक अखण्डता, हाम्रो भूमिलाई हामी प्यारो गर्छाैँ । यसमा कसैले पनि अतिक्रमण गर्नु या यसलाई होच्याउनु उचित हुँदैन । हामी त्यस्तो भयो भने सहदैनौँ । राष्ट्रको हित, नेपाली नागरिककाे हितभन्दा विपरीत सरकार कुनै पनि कारणले, कुनै पनि हिसाबले चल्न चाहन्छ, खोज्छ भने त्यसको हामी विरोध गर्छाैँ ।त्यस्ता कुराहरूलाई सफल हुन दिँदैनौँ । यसो भन्दा कसैलाई चित्त दुख्छ भने दुखोस् । हामी कसैको चित्त होइन् राष्ट्रिय हितको रक्षा गर्छाैँ । हाम्रो राष्ट्रिय हितसँग अरूको अहित जोडिएको छैन ।’

अध्यक्ष ओलीले माओवादी जनयुद्धका कारण देशमा राजतन्त्रको अन्त्य नभएको दाबीसमेत गर्नुभयो । २०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरूकै कारण नेपालमा राजतन्त्र अन्त्य भएको भन्न नमिल्ने उहाँको तर्क थियो ।

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले आफूहरूले वास्तविक शहीदहरूकाे मात्रै सम्मान गर्ने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*