हामीसँग निहुँ खोजियो, पूर्वमाओवादीहरु एक ठाउँमा आऊँ : बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । विचार मिल्नेहरुको एउटै पार्टी बनाउनुपर्ने भन्दै उनले त्यो नभए मोर्चाबन्दी वा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताए ।
शहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा भट्टराईले शान्ति प्रक्रियामा आउनु सही भए पनि संविधान बनाउन नसक्दा पहलकदमी हातबाट फुस्किएको बताए । नयाँ आधारमा नयाँ एकता सम्भव भएको भन्दै उनले भने, ‘माओवादी पृष्ठभूमिमा गर्व छ, माओवादी भन्न आपत्ति छैन । तर अबको युगमा माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन ।’
भौतिकवादी द्वन्द्ववादी चिन्तनपद्धती मुख्य कुरा भएको भन्दै उनले पूर्वाको मोह नराख्न आग्रह गरे । ‘मैले त आफ्नो मन बनाइसकेको छु । नजिकको साथीलाई भनिसकेको छु’, उनले भने, ‘हामी एकै चोटी पार्टी एकता भनेर गला मिलाउनुभन्दा बहस गरौं । कहाँ चुक्यौं, कसको के कमजोरी भयो समीक्षा गरौं ।’
‘मिल्नसक्नेहरु एकै ठाउँमा आउँ, उटै पार्टी बनाउँ । समय लाग्छ भने पहिला एउटा गठबन्धन/मोर्चा बनाउँ । त्यो पनि सकिन्न भने कार्यगत एकता गरौं ।’