‘नाईं नभन्नू ल ६’ फर्स्टलुक टिजरमा आर्शिवादको एक्सन र आँचलसँग प्रेम

जनपत्र
१८ फाल्गुन २०७९, बिहीबार ०८:००

विकासराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘नाईं नभन्नू ल ६’को फर्स्टलुक टिजर सार्वजनिक गरिएको छ । आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै मंगलबार सार्वजनिक गरिएको फर्स्टलुक भिडियोमा फिल्मका मुख्य डेब्यू अभिनेता आर्शिवाद क्षेत्रीको एक्सन अवतारलाई विशेष प्राथमिकता दिइएको छ । अभिनेत्री आँचल शर्मासँग उनको ‘लभ केमेस्ट्री’ पनि देख्न सकिन्छ ।

बैशाख १ मा ‘नाईं नभन्नू ल ६’ प्रदर्शनमा आउने भएसँगै पाँच फिल्मको भिडन्त निश्चित भएको छ । यो मितिलाई ‘बिहे पास’, ‘जारी’, ‘प्रसाद २’ र ‘बुलाकी’ फिल्मले पनि प्रदर्शन मिति घोषणा गरिसकेका छन् । फरक कथावस्तु र बलियो स्टारकास्ट भएकाले पाँचवटै फिल्म दर्शकको पखाईमा छन् । नयाँ वर्षको अवसर र बैशाख १ गते शुक्रबार परेकाले पनि यो मिति प्रायःको नजरमा परेको हो ।

विकासराज आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको फिल्ममा प्रियंका कार्की, केकी अधिकारीको पनि अभिनय छ । यो फिल्मबाट निखिल उप्रेती र सञ्चिता लुईंटेलका छोरा अथर्व उप्रेतीले बाल कलाकारको रुपमा डेब्यू गरेका छन् भने ‘नाईं नभन्नू ल’ सिरिजबाट प्रख्याती कमाएका अनुभव रेग्मी केमियो भूमिकामा छन् । फिल्ममा योगिशा खत्रीको पनि अभिनय छ ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*