प्रदेश १ को नाम ‘कोशी’ राख्न प्रस्ताव दर्ता

जनपत्र
१७ फाल्गुन २०७९, बुधबार १३:०३

काठमाण्डाै – प्रदेश नम्बर १ को नाम ‘कोशी’ राख्न प्रस्ताव गरिएको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक तथा कांग्रेसका भूमिप्रसाद राजवंशी र निरन राई समर्थक रहेको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो ।

प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिउँसो १ बजेसम्मका लागि नामाकरण प्रस्ताव सचिवालयमा दर्ता गराउन प्रदेश सांसदलाई समय दिनुभएको थियो । पहिलो प्रदेशसभाले थाति राखेर गएको प्रदेश १ को नामकरण आज बुधबार बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने कार्यसूची सार्वजनिक गरिएको छ ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा नामाकरण प्रस्ताव पेश भएको हो । यसअघि नामबारे जातीय पहिचानका आधारमा राख्ने की नदी, भूगोलका आधारमा राख्ने भन्ने विषयमा दलहरू विभाजित थिए । अहिले पनि केही दल कोशी नाममा सहमत छैनन् । प्रदेश १ को पहिलो संसद्ले स्थायी राजधानी विराटनगर टुंगो लगाएको भए पनि नामाकरण हुन सकेको थिएन । ७ वटा प्रदेशमध्ये यसअघि ६ वटा प्रदेशले आफ्नो पहिलो कार्यकालमै नाम टुङ्गो लगाइसकेका छन् ।

नेपालको संविधानमा प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ ।  प्रदेश १ मा ९३ जना सांसद छन् । जसमध्ये नामकरणको टुंगो लगाउन दुई तिहाइ ६३ जना सांसद चाहिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*