वैदेशिक रोजगार बचतपत्र खुला, विदेशबाटै यसरी सकिन्छ किन्न

जनपत्र
१७ फाल्गुन २०७९, बुधबार १२:४८

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैदेशिक रोजगार बचतपत्र खुला गरेको छ ।

यही फागुन १४ गतेदेखि चैत ३ गतेसम्मका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५० करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीले घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र किन्न पाउनेछन् ।

वैदेशिक रोजगारीबाट फर्किएको ६ महिना पूरा नभएका नेपाली नागरिक र गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा यो बचतपत्र किन्ने सक्नेछन् ।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ । बचतपत्रको प्रत्येक छ महिनामा ब्याज पाइने व्यवस्था छ । ब्याज बचतपत्र खरिदकर्ता आफैँले वा इच्छाइएको व्यक्तिमार्फत पनि भुक्तानी लिन सकिन्छ ।

बचतपत्र किन्न आवेदन फारम भर्ने तरिका

वैदेशिक रोजगार खरिद गर्नका लागि नेपाल  राष्ट्र बैंकको वेवसाइट www.nrb.org.np अन्तर्गत monetary management भित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सकिने व्यवस्था रहेको छ ।

वेबसाइटबाट फारम डाउनलोड गरी आफूलाई पायक पर्ने बिक्री एजेण्टको इजाजत पत्र लिएका बैंक तथा वित्तीय संस्थाहरूको सहयोग लिई अनलाइन आवेदन भर्न सकिन्छ । राष्ट्र बैंकबाट इजाजत पत्र लिएका बिक्री एजेण्टहरुको सूची बैंकको वेबसाइटबाट पनि हेर्न सकिन्छ ।

बचत पत्र स्टक वा प्रमशिरी नोटको रुपमा किन्न सकिन्छ । स्टक र प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा नै खुलाउन पर्छ ।  यदि नखुलाई आवेदन दिएमा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध हुन्छ ।

बचतपत्र किन्नका लागि आवेदन दिँदा राहदानी, आफू कार्यरत रहेको देशको भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्रको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरूप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए त्यस खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर आवश्यक पर्छ ।

परिवारका सदस्यको नाममा किन्ने भएमा कसको नाममा किन्ने हो उसको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित कागजात पनि आवश्यक पर्छ ।

नाबालकको नामा संरक्षक भई खरिद गर्ने भएमा नाबालकको जन्म दर्ता प्रमाणपत्र पनि आवश्यक पर्छ । थप जानकारीका लागि काठमाण्डौमा राष्ट्र बैंकको सम्बन्धित विभागमामा ०१४४१९८०४ नम्बरमा ८३५ एक्सटेन्सन नम्बर डायल गर्न पर्छ ।

हेर्नुहोस् सूचीकृत एजेण्टहरुको विवरण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*