रुकुम पश्चिम : चौरजहारीका झण्डै एक सय परिवारकाे आम्दानीकाे स्राेत ढुङ्गाखानी

जनपत्र
१६ फाल्गुन २०७९, मंगलवार १२:३८

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीका ७१ वर्षीय धनसिंह पुनले घरछेउको ढुङ्गाखानीमा काम गर्न थालेको ५६ वर्ष भयो । सानै उमेरदेखि काम गर्न थाल्नुभएका पुन बिहानै खानीमा पुगेर ढुङ्गा निकाल्ने, कुद्ने काम गर्नुहुन्छ । परिवारको लालनपालन, उच्च शिक्षा, सम्पूर्ण घरखर्च यसैबाट जुटाउनुभएको छ । खानीका पाका कामदारका रुपमा चिनिने उहाँले बाजेका पालादेखि सञ्चालनमा आएको ढुङ्गाखानीले अहिले धेरैलाई रोजगारी दिएको र ठूलो बजार लिएको बताउनुभयो ।

त्यही गाउँका ६१ वर्षीय खिमे घर्तीले पनि ढुङ्गाखानीमै काम गरेर सन्तान हुर्काउनुभयो, पढाउनुभयो । दुई छोरा, एक छोरीको उच्च शिक्षा खानीमै कमाइले पूरा गरेको घर्तीले बताउनुभयो । ‘१६ वर्षको उमेरमा बिहे गरेको हुँ, त्योभन्दा अघिल्लो सालदेखि खानीमा काम गर्दै आएको छु,’ घर्तीले भन्नुभयो, ‘कालापहाड जानु परेको छैन, सिङ्गो जीवनभर ढुङ्गाखानीमै काम बिताएको छु ।’ घर बनाउने, जग्गा जोड्ने, सन्तान पढाउने मुख्य आयश्रोत नै यही ढुङ्गाखानी हो ।

पुन र घर्तीको जस्तै सिङ्गो गोइरीगाउँवासीको जीविकोपार्जनको श्रोत ‘ढुङ्गाखानी’ हो । खानीले यहाँका करिब एक सय घरपरिवारको दैनिकी प्रत्यक्ष रुपमा धानेको छ । गोइरीका ढुङ्गा घरको छानो छाउन, भान्सामा सिलौटोको रुपमा प्रयोग गर्न र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको छ । यसका साथै पछिल्लो समय मार्बल र टायलको रुपमा प्रयोग हुन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*