बागमती प्रदेशमा एमालेः केन्द्रबाट निर्देशन नआए सम्म सरकार नछोड्ने

हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेले तत्काल सरकार नछोड्ने भएको छ । नेकपा एमालेले केन्द्रबाट सरकार छोड्नका लागि निर्देशन नआए सम्म प्रदेश सरकारबाट एमाले नबाहिरिने भएको हो । नेकपा एमालेका मन्त्रीहरुले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छोडेपनि प्रदेशमा भने तत्काल सरकार छोडीहाल्ने अवस्था नरहेको बागमती प्रदेशका मन्त्रीहरु वताउँछन् ।
प्रदेश सरकार छोड्दा सबैतिर एकैपटक छोड्ने र एमालेले नेतृत्व गरेका प्रदेश सरकारबाट पनि तत्काल माओबादीले समर्थन फिर्ता नलिएको र मन्त्रीहरुले नछोडेको अवस्था रहेको छ । अहिले तत्कालका लागि प्रदेश सरकार नछोड्ने र पार्टीको केन्द्रबाट निर्देशन आएपछी सरकार छोड्ने तयारीमा रहकेो प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री तथा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले वताउनुभयो ।
केन्द्रीय तहमा राष्ट्रपति निर्वाचन अघिसम्म सरकार नछोड्ने एमालेको निर्णय भएपनि सोमवारै सरकार छाडेको छ । तर प्रदेश सरकारमा भने एमाले कायमै रहेको छ । बागमती प्रदेश सरकारमा एमालेका ४ मन्त्री रहेका छन् । केन्द्रीय निर्देशन प्राप्त भएको खण्डमा एमालेका मन्त्री तत्काल सरकार छोड्ने मुडमा छन् ।
बागमती प्रदेश सरकारमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् भने एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका छन् । बागमती प्रदेशमा एमालेका २७ सदस्य रहेका छन् ।