भारतको सहयोगमा निर्मित मदन भण्डारी स्मृति कलेज हस्तान्तरण

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवन सोमबार कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । सो हस्तान्तरण समारोहमा नेपाल सरकारका पूर्वपरराष्ट्रमन्त्री एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, मदन भण्डारी फाउन्डेसनका अध्यक्ष श्रीमती उषाकिरण भण्डारी र काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीको सहभागिता रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत यस कलेज भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा कुल २.८६४ करोडको लागतमा भएको हो ।
स्थापनाकालदेखि नै यस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा देशका विभिन्न जिल्लाका १५ सय बढी विद्यार्थीहरू अध्ययनरत छन् । यस कलेजले विभिन्न विषयमा अध्यापन गराउँदै आएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा ४ सय ७८ वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये काठमाडौं जिल्लाका ४० वटा परियोजनासमेत गरी बाग्मती प्रदेशमा १०४ वटा परियोजना रहेका छन् । यसबाहेक यस कलेजलाई प्रदान गरिएको एक स्कुल बससहित भारत सरकारले हालसम्म काठमाडौंका विभिन्न अस्पताल, स्वास्थ्य चौकी एवं शैक्षिक संस्थालाई ६८ वटा एम्बुलेन्स र ४६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको जनाइएको छ ।