लिग टु : पपुवा न्यूगिनीविरुद्ध नेपालले पायो २०४ रनको लक्ष्य
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा सुरु शृखंलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ ।
बलिङमा राम्रो सुरुवात गरेपनि नेपालले डेथ ओभरमा त्यसलाई कायम राख्न नसक्दा पीएनजीले २०० रन कटाएको थियो । पीएनजीले अन्तिम पाँच ओभरमा ४३ रन जोडेको थियो ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनायो । सुरुको ३० ओभरमा १०० रन बनाएको पीएनजीले त्यसपछि २० ओभरमा १०३ रन बनाएको थियो ।
पीएनजीका लागि सातौँ नम्बरमा ब्याटिङ गरेका चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६-३६ रन बनाए ।
सपरले ५३ बल खेल्दै २ चौका मद्दतमा अविजित ३६ रन बनाएका हुन् । यस्तै सेस बाउले ३१, किपलिन डफरिगाले २९ र नोर्मन भानुअले २५ रन बनाए । हिरी हिरी १० रन बनाएर आउट भए ।






