परराष्ट्रको काम राहत र उद्दार पनि रहेछ : मन्त्री पौड्याल
काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले आफ्नो मन्त्रालयको काम राहत र उद्दार पनि रहेछ भन्ने महसुस परराष्ट्रमा गएपछि मात्र भएको बताएकी छन् ।
राष्ट्रियसभा सदस्य पौड्याल २ माघमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्रीले आफ्नो जेनेभा भ्रमण स्थगित गरेपछि मन्त्री पौडेलले सोमबार राष्ट्रियसभामा समय मागेर सम्बोधन गरिन् ।
उनी बोलिरहँदा एमालेको सचिवालयले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसको पूर्वसूचना पाएकी मन्त्री पौड्यालले जेनेभा भ्रमणबारे मात्र जानकारी गराइनन्, परराष्ट्रमन्त्रीका रुपमा ४२ दिनमा आफूले गरेको कामकारबाहीको विवरण समेत सुनाइन् ।
‘सर्वभौमसत्ताको संरक्षण र राष्ट्रिय हितको प्रबन्ध गर्ने परराष्ट्र मन्त्रालयको काम हो भन्ने लाग्थ्यो । तर परराष्ट्रको काम राहत उद्दार पनि रहेछ । त्यो मैले त्यहीँ गएर महसुस गरेँ,’ उनले भनिन्, ‘यति धेरै राहत उद्दार गर्नुपर्ने रहेछ विदेशमा भएका नेपालीहरुलाई, तर यसबारे हाम्रो नीति बोलेको छैन ।’






