रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाण्डाै – चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा आउँदाे वैशाख १० गते हुने उपचुनावकाे तयारीलगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टी कार्यालय बसुन्धारामा भाेलि साेमवारका लागि बोलाइएको बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति चुनाव र चितवन–२ को उपचुनावबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
गएकाे पुस १० गते बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धन बनेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकाेमा फागुन २२ गते सरकारबाट बाहिरिए पनि सरकारबाट अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन ।
राष्ट्रपतिको चुनावका लागि कांग्रेस वा एमालेका उम्मेदवारको प्रस्तावक वा समर्थकमा रास्वपा बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपाले यसबारे स्पष्ट नीति तय गर्ने बताइएको छ ।