‘ट्रायल’ मा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

जनपत्र
१४ फाल्गुन २०७९, आईतवार १४:५४

काठमाण्डौ – चालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ ।

बाग्मती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाण्डौ उपत्यकाका चार वटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन् । नियम लागू भएपछि दुई पाङ्ग्रे सवारी साधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनामा रहेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताउनुभयो । सुरुमा चाप बढी भए पनि पुनः ट्रायल दिने कम हुने उहाँको भनाइ छ । लिखित परीक्षा पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनः दुई पटक मौका पाउने गरेका छन् । उहाँले भन्नुभयो, ‘एकै पटकमा धेरै पास भएपछि दोहोर्‍याएर र तेहेर्‍याएर दिने घट्ने भए ।’

प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरू प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका थिए । सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको बाग्मती प्रदेशले भने विभिन्न कारण देखाएर ढिलामात्रै सुरु गरेको थियो । अरू प्रदेशमा चाप अति न्यून रहेको र उपत्यकाबाहिरका जिल्लामा रहेको कार्यालयको एक हप्तामा आउनेभन्दा उपत्यकामा एक दिनमा चाप बढी रहेको प्रमुख कपालीले बताउनुभयो ।

विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुई पाङ्ग्रे सवारी साधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ । हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*