शुक्रबहादुरले जिते वेस्टर्न ओपन गल्फ
नेपाल नम्बर एक प्रो शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुरको चौंथो स्पर्धा वेस्टर्न ओपन जितेका छन् । पार ६९ को हिमालयन गल्फ कोर्समा शुक्रले सानदार कमब्याक गर्दै ५–अन्डर ६४ को उत्कृष्ट कार्ड तयार पारे । समग्रमा १ अन्डर २ सय ६ को स्कोरमा शुक्रले साबिक विजेता एमेच्योर खेलाडी सुवास तामाङलाई २ स्ट्रोकले हराएर करियरको नवौं उपाधि जिते । उनले १ लाख ४० हजार रुपैयाँ पुरस्कार पाए ।
शुक्रले अन्तिम दिन सानदार प्रदर्शन गरे । अन्तिम १८ होलको खेल सुरू गर्दा शुक्र ४ ओभरको स्कोरसहित पाँचौ स्थानमा थिए । फ्रन्टनाइन उनले १ अन्डर ३३ मा सकेका थिए । दोस्रो र पाँचौं होलमा बोगी खेपे तर तेस्रो, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे । ब्याकनाइनको उम्दा प्रदर्शन नै उनको जितको कारण बन्यो । १२, १४, १५ र १७ औं होलमा बर्डीको सफलता पाउँदा उनले ब्याकनाइन ४ अन्डर ३१ मा सकाए । उनको यो सिजनको दोस्रो उपाधि हो । यसअघि उनले घरेलु भूमिमा इस्टर्न ओपन जितेका थिए ।
१३ औं सागका दोहोरो स्वर्ण विजेता सुवास अन्तिम दिन २ ओभर ७१ खेल्दै समग्रमा १ ओभर २ सय ८ सहित दोस्रो भए । एमेच्योरतर्फ भने सुवास विजेता भए । उनले अजित बिकेलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराए । प्रोफेसनलतर्फ भुवन नगरकोटी र सन्जय लामा ३ ओभर २ सय १० स्कोरसहित संयुक्त दोस्रो भए । भुवनले ३ ओभर ७२ र सन्जयले २ ओभर ७१ खेले । दुवैले ७८ हजार ५ सय प्राप्त गरे । इभन पार ६९ सहित समग्रमा ५ ओभर २ सय १२ को स्कोरमा जयराम श्रेष्ठ चौथो भए । उनले ५५ हजार जिते ।
भेट्रान गल्फर रामे मगरले अन्तिम १८ होलको खेल ५ ओभर ७४ मा टुंग्याएर समग्रमा ६ ओभर २ सय १३ स्कोरसहित पाँचौं भएर ४७ हजार प्राप्त गरे । १ ओभर ७० खेल्दै समग्रमा ९ ओभर २ सय १६ सहित भुवनकुमार रोक्का छैटौं भए । यो सिजनको सूर्य नेपाल म्याच प्लेका विजेता दिनेश प्रजापति सातौं भए । उनले १ ओभर ७० खेले । छैटौ र सातौं भएका भुवन र दिनेशले क्रमशः ४० हजार ५ सय र ३७ हजार रुपैयाँ थापे । दलबहादुर लामा र धन थापाले संयुक्त आठौं स्थान बाँडे । दुवैले ३३ हजार हात पारे । रवि खड्का र नीरज तामाङ दसौं हुँदै २८ हजार ५ सय जित्न सफल भए ।