सहजकर्ता संघले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझायो

जनपत्र
१२ श्रावण २०७६, आईतवार २०:०७

हेटौंडा । उद्यमशीलता विकास सहजकर्ता संघले आज हेटौंडामा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई विभिन्न माग राखी ज्ञापन पत्र दिएको छ । विभिन्न गैरसरकारी संस्था, निजी संस्थाहरुमा उद्यमशीलता विकासमा विभिन्न सीपमूलक तालिम दिदै आएका सहजकर्ताहरु विगत केही समयदेखि बेरोजगार समेत रहेको अवस्थामा उद्योग मन्त्रालय मार्फत स्थानीय निकायमा आफूहरुको ज्ञानसीपलाई प्रयोग गर्न आग्रह गरेका छन् ।

संघका अध्यक्ष देवकी घिमिरेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा देशको समृद्धिका लागि युवाहरुले सीपमूलक शिक्षा लिई स्वरोजगार हुनु आवश्यकता रहेकाले यस तर्फ सरोकारवाला निकायले ध्यान दिन आग्रह गरिएको छ । संघले आफूहरु स्थानीय वेरोजगार यूवाहरुलाई उद्यमशीलता विकास तालिम दिन इच्छुक रहेको र यसका लागि स्थानीय स्तरमा नै नीतिगत व्यवस्था गर्नु आवश्यक रहेको बताएको छ ।

हाल सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट विभिन्न लेबल (सीपमूलक योग्यता) लिएका सहजकर्ताहरु ६ महिना भन्दा बढी बेरोजगार बस्नु परेकोले सहजकर्ताहरु पलायन भईरहेको संघका अध्यक्ष घिमिरेले बताएकी छिन् । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले प्रदेशको तफैबाट योजना आयोग मार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले सहजकर्ता भई उद्यमशीलता विकासमा सघाउ पुर्याएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

ज्ञापनपत्रमा स्थानीय स्तरमा सहजकर्ताको पद श्रृजना गर्नुपर्ने, सीटिईभिटीको तालिम लिएको हुनाले लोकसेवा मार्फत पदपूर्ति गर्नुपर्ने, हाल खुलेका व्यवसायिक सीप सिकाउने शैक्षिक संस्थाहरुको अनुगमन गर्नुपर्ने, सहजकर्ताले पाएको पारिश्रमिकमा पुनर्मूल्यांकन गर्नुपर्ने, व्यवसाय प्रदायक संस्थाले सहजकर्ताको अनुमतिबाट मात्रै मन्त्रालयमा आशयपत्र बुझाउने व्यवस्था हुनु पर्ने, उद्योग मन्त्रालयबाट सञ्चालित उद्यमशीलता कार्यक्रममा उद्यमशीलता विकास सहजकर्तालाई नै प्राथमिकता दिनु पर्ने लगायका मागहरु रहेका छन् । नेपालमा हाल करीब १ हजार ५ सय उद्यमशीलता विकास सहजकर्ताहरु रहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*