फोनिज मधेस प्रदेशले प्रदेश सांसदहरुलाई सम्मानित गर्दै

जनपत्र
१३ फाल्गुन २०७९, शनिबार ०८:२९

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश कार्य समितिले मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने आदिबासी जनजाति सांसदहरुलाई जनकपुरमा सम्मानित गर्दैछ । सांसदहरुलाई प्रदेश सभामुख रामचन्द्र मण्डलले सम्मानित गर्नेछन् ।

फोनिज मधेस प्रदेशका अध्यक्ष दृष्यन्त चौधरीका अनुसार मधेस प्रदेशमा आदिबासी जनजाति सांसद १५ जना छन् । प्रदेशसभामा निर्वाचित सबै सांसदहरुलाई कार्यक्रममा सहभागीताका लागि निमन्त्रणा पठाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कार्यालयको सभाकक्षमा हुने कार्यक्रममा सांसदहरुलाई सम्मानित गर्न लागिएको अध्यक्ष चौधरीले बताए ।

आदिबासी जनजाति सांसदहरुलाई सम्मानित गर्ने र आदिबासीको माग मुद्दा र सवाल सम्बोधनका लागि सांसदहरुलाई खवरदारी गर्ने लक्ष्यसाथ कार्यक्रमको आयोजना गरिएको फोनिज मधेस कार्य समितिले जनाएको छ । मधेस प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ जना सांसद छन् । सो मध्ये १५ जना आदिबासी जनजाति सांसदको प्रतिनिधित्व रहेको छ । प्रतिशतले यो १४ हो ।

मधेस प्रदेशमा आदिबासी जनजाति र आदिबासी पत्रकारको मुद्दा ओझेलमा परिररहेको र मधेसको मुद्दा जवर्जस्तरुपमा उठिरहेका बेला आदिबासी सवाललाई उठाउन फोनिज मधेस प्रदेशमा केन्द्रित कार्यक्रम शुरु गरेको आयोजकले जनाएको छ ।

फोनिज संघीय समितिले फागुन २७ र २८ गते सर्लाहीको हरिवनमा नीति तथा विधान सम्मेलन गर्ने निर्णय गरिसकेको छ । सो सम्मेलनमा फोनिजका ६० जिल्लाबाट करिब तीन सय जना पत्रकारको सहभागिता रहनेछ ।

आज दिउँसो हुने कार्यक्रमका लागि आदिबासी जनजाति संघ संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, आमसञ्चार प्राधिकरण मधेस प्रदेशका प्रतिनिधि, फोनिज मधेस प्रदेशमा रहेका जिल्ला शाखाका आदिबासी जनजाति पत्रकारको सहभागिता रहने आयोजकले जनाएको छ । मधेस प्रदेशमा फोनिजको बारा, पर्सा, सिराहा, सप्तरी र सर्लाही जिल्लामा शाखा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*