आउँदो २५ गते हुने राष्ट्रपति चुनावमा नयाँ गठबन्धनका उम्मेदवार सुविधाजनक बहुमतका साथ विजयी हुने देखिएको छ । हिजो प्रतिनिधि सभामा रहेका आठ दल कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा, जनमत र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । यी सबै दलको मतभार जोड्दा कांग्रेसका उम्मेदवारले ३१ हजारभन्दा बढी मतभार पाउने सम्भावना देखिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति चुनावमा ५२ हजार ६ सय २८ मतभार रहेकोमा त्यसको ५१ प्रतिशत अर्थात् २६ हजार ३ सय १५ मतभार ल्याउने उम्मेदवार निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार कांग्रेसको १६ हजार १४२, माओवादीको ७ हजार ७४५, एकीकृत समाजवादीको २ हजार ५७४, जसपाको १ हजार १४५, जनमतको १ हजार २ सय ४२, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८९२ र जनमोर्चाको २०६ मतभार रहेको छ । यस्तै एमालेको १५ हजार तीन सय ९१ मतभार छ । राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार पाँच सय एक मतभार छ । राप्रपाको दुई हजार चार सय ५० मतभार तथा नेमकिपाको दुई सय २३ मतभार रहेको छ । स्वतन्त्रको सङ्घमा चार र प्रदेशमा नौ सदस्य गरी सात सय ४८ मतभार रहेको निर्वाचन आयोगको तथ्याङ्क छ ।
तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ६ चुहानडाँडाको हात्तीखर्कमा लागेको डढेलोबाट बस्ती जोगाउन लागि अहिले पनि सुरक्षाकर्मी र स्थानीयवासीले पहल गरिरहेका छन् । खैरेनी निबुटार जङ्गलमा सुरु भएको डढेलो बस्तीमा पस्दा हिजो १४ घर जलेर नष्ट भएका थिए ।
डढेलोबाट अरु बस्तीलाई जोगाउन नेपाली सेना, प्रहरी लगायत स्थानीयले रातभर प्रयास गरेका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । झाडी रहेको जङ्गलमा डढेलो धेरै फैलिएकोले तत्काल नियन्त्रणमा गर्न कठिन भएकाले बस्ती जोगाउनका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो । जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अरु बस्तीसमेत जोखिममा छन् । हिजो डढेलो पसेको बस्ती तामाङ समुदायको हो ।
बस्तीमा सबै घर खरले छाएका थिए । खरको छाना भएका घरहरुमा डढेलोको आगो पुगेपछि निभाउनै नसकिएको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो ‘सेना, प्रहरी र स्थानीयले सक्दो प्रयास गर्दा पनि सकिएन, दमकल लगिएको भए पनि बस्तीमा पुग्न सकेन, माथिबाट हानेको पानीको फोहराले काम गरेन ।’
हिजो आगो निभाउने क्रममा ५० वर्षकी याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ । १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिनुभयो ।
आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ ।
दधिराम वाइबाको घरमा बस्दै आउनुभएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आउनुभएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आउनुभएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ ।
राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन् ।