बालुवाटार बैठक : कांग्रेसले राष्ट्रपतिमा दाबी नछाड्ने

काठमाण्डाै – चार दलीय बैठकमा नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसँगको छलफलमा कांग्रेसले आफ्नो अडान राखेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा स्वाभाविक दाबी गरेको बताउनुभयो । बैठकमा कांग्रेसबाहेकका दलहरूले पनि राष्ट्रपतिमा आ–आफ्नो दाबी गरेको बताउनुभयो । महामन्त्री थापाले प्रस्तावमा आएका नामहरूका बारेमा दलहरूले आ–आफ्नो पार्टीमा छलफल गरी फेरि ५ बजे बैठक बस्ने सहमति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले राष्ट्रपतिमा अन्य राजनीतिक दलहरूले सहयोग गर्छ भन्ने अपेक्षा राखेकाे छ । यसैगरी अन्य दलको तर्फबाट फरक प्रश्तावहरू आए तर समझदारीको वातावरण के हो भने हामी एउटै निर्णयमा पुग्छौँ । हामी एकै ठाउँमा उभिन्छौँ भन्ने कुरामा सबै स्पष्ट छौँ ।’
महामन्त्री थापाले कांग्रेसको उम्मेदवारमा अन्य राजनीतिक दलहरूले पनि सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो । उहाँले अन्य दलहरूले पनि कांग्रेसबाहेकका दलका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने अडान लिएको बताउनुभयो ।