राष्ट्रपतिको चुनावका लागि मतदाता नामावलीमा अरुण चौधरीको नाम समावेश गराउन माग

जनपत्र
११ फाल्गुन २०७९, बिहीबार १४:३९

काठमाण्डाै – राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ । ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिनुभयो । मतदाता नामावलीमा दाबी विरोधका लागि आज बिहीवार दिउँसाे १२ बजेसम्मको समय तोकिएको थियो ।

कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । यसैगरी अन्य चार वटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।

प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले भाेलि शुक्रवार दिउँसाे १२ बजे राष्ट्रपतिको चुनावका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । मतदानमा सङ्घीय संसद्का सांसद र प्रदेश सभा सदस्यले मतदान गर्न पाउने छन् । मतदान फागुन २५ गते संसद् भवन नयाँ बानेश्वरमा हुने तालिका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*