राष्ट्रपतिको चुनावसँगै शक्तिकेन्द्रको बढ्दो चहलपहल

जनपत्र
११ फाल्गुन २०७९, बिहीबार १०:५६

काठमाडौ । मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सुरु भएको शक्तिराष्ट्रहरूको दौडधुप सरकार गठन हुँदै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा थप तीव्र बनेको छ ।

विशेष गरी अमेरिका र युरोपीयन युनियनका विभिन्न मुलुकबाट एकपछि अर्को उच्चस्तरीय भ्रमणहरू भए भने छिमेकी मुलुक भारतबाट नेपालका लागि पूर्वराजदूत समेत रहिसकेका विदेश सचिव विनयमोहन क्वात्राले दुई दिने म्याराथुन भ्रमण सम्पन्न गरे ।

अर्को छिमेकी मुलुक चीनबाट प्रत्यक्ष रूपमा उच्चस्तरीय भ्रमण नभए पनि नेपालका लागि नवनियुक्त राजदूत छेन् सोङ्ग एकपछि अर्को दौडमा उसै गरी सहभागी भइरहेका छन् । यसअघिकी राजदूत होउ यान्छीले ०७४ सालको आम निर्वाचनपछि कम्युनिस्ट पार्टीहरूको एकता र सरकार निर्माणका लागि दौडधुप गरेकी थिइन् ।

त्यस्तै सरकार गठन भएको केही दिनमा नै चीनले रेलमार्ग अध्ययनका लागि भनेर विज्ञहरूको टोली काठमाडौंमा उतार्‍यो, जुन पूर्वनिर्धारित भनिएको छ । अहिले काठमाडौंमा भारतीय र चिनियाँ राजदूतको नेताहरुसँग भेटघाट उस्तै बाक्लो बनिरहेको छ ।

विभिन्न राजनीतिक र कूटनीतिक स्रोतहरूका अनुसार पछिल्लो समय भएका अधिकांश भ्रमण र भेटको अन्तर्यमा २५ फागुनका लागि तय भएको राष्ट्रपति निर्वाचन केन्द्रमा छ । ‘औपचारिक भ्रमणमा के भएको छ भन्ने भेट्नेहरूलाई नै थाहा हुन्छ । यस्ता भेटघाटमा कसको के चासो हुन्छ भन्ने सबैलाई थाहा भएको कुरा हो नि,’ एक शीर्ष नेताले अलनाइनखबरसँग भने, ‘यहाँको राजनीतिक माहोल जे हुन्छ, त्यसमा उनीहरूको चासो हुन्छ । अहिले पनि छ ।’

सम्पन्न भएका भ्रमणहरू कतिपय पूर्वनिर्धारित छन् भने कतिपय तत्कालीन राजनीतिक घटनाक्रमले निर्धारण भएका देखिन्छन् । त्यस्तै, काठमाडौंमा रहेका कूटनीतिज्ञका भेटघाट पनि कतिपय अनौपचारिक थिए भने, कतिपय औपचारिक शिष्टाचारका लागि समेत भएका थिए । तर ती भेट र भ्रमणका क्रममा भएका छलफल र सार्वजनिक सूचनाहरूका आधारमा उनीहरूको चासो के विषयमा थियो र छ भन्ने स्पष्ट हुन्छ ।

नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराई औपचारिक भेटवार्ताहरूमा भन्दा पनि अनौपचारिक हिसाबले विकसित राजनीतिक घटनाक्रमका विषयमा उनीहरूले चासो राख्ने बताउँछन् । ‘यो वा त्यो व्यक्तिलाई बनाउनु पर्छ भनेर सिधै औपचारिक प्रस्ताव गरेको वा कुराकानी भएको मलाई जानकारी छैन । तर अनौपचारिक संवादमा सबैले विकसित राजनीतिक घटनाक्रममाथि चासो राखि नै रहेका हुन्छन्,’ एमाले नेता भट्टराई भन्छन् ।

संविधानले आलंकारिक भूमिकामा राखेको संवैधानिक पद राष्ट्रपतिमा आन्तरिक राजनीतिक शक्ति मात्रै नभएर बाह्य शक्ति केन्द्रहरू किन आकर्षित छन् । अघिल्ला कार्यकालहरूमा दुई जना राष्ट्रपतिले खेलेको भूमिकाका कारण मुख्य गरी यसपटक यो पदमा यतिविघ्न आकर्षण बढेको हो । र, शक्तिकेन्द्रहरूको दौडधुप अन्य बेलाभन्दा तीव्र बनेको देखिन्छ । यद्यपि, एमाले नेता भट्टराईले भनेजस्तै उनीहरूले प्रत्यक्ष दबाव सिर्जना गर्ने भन्दा पनि परोक्ष हिसाबले ‘सफ्ट पावर प्ले’ गरेको देखिन्छ ।

चुनावमा संसदको तेस्रो दल बन्दा पनि राजनीतिको खेलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । धेरैले हुनसक्ने कल्पना गरेको तर भर नपरेको विषय थियो, प्रचण्ड प्रधानमन्त्री हुनु । तर निर्वाचन अगावैदेखि प्रधानमन्त्री आफू बन्ने विषयमा अड्डी कसिरहेका प्रचण्डले तत्कालीन एकीकृत पार्टी नेकपा विभाजन गरेर बनाएको कांग्रेससँगको गठबन्धन समेत चुनावको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै आफूलाई समर्थन गर्न कांग्रेसबाट भइरहेको आनाकानीलाई कारण बनाउँदै छोडेर हिँडेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवालगायत प्रभावशाली नेताहरूसँगको वार्ता निष्कर्षमा नपुगेपछि बालुवाटारबाट निस्केका प्रचण्ड केही घण्टाको अन्तरमा केपी ओली निवास बालकोटबाट प्रधानमन्त्री हुने सुनिश्चितासहित निस्किए । केहीबेरमा नियुक्त नै भए ।

करिब तीन महिना अघिको त्यो क्षणमा पनि शक्ति केन्द्रको दौडधुप हेर्नलायक थियो । विशेष गरी त्यसबेला विभिन्न मुलुकबाट नियुक्त भएर भर्खरै काठमाडौं पुगेका राजदूतहरू सक्रिय थिए । युरोपेली युनियन र त्यहाँका विभिन्न मुलुकका राजदूतहरूले समेत एकल र संयुक्त राजनीतिक भेट गरेका थिए ।

छिमेकी मुलुक भारतका राजदूत नवीन श्रीवास्तव, चीनका राजदूत छेन सोङ्ग र अमेरिकी राजदूत डीन  थम्पसन नियुक्त भएर भर्खरै मात्रै काठमाडौं आएकाले उनीहरूका शिष्टाचार भेटहरू पनि त्यसबेलामा बढी भए ।

यीमध्ये भारतीय राजदूत श्रीवास्तव अन्य राजदूतको तुलनामा बढी सक्रिय देखिएका थिए । उनले तत्कालिन कांग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धन र नयाँ सरकार गठबनको विषयमा चासो व्यक्त गर्ने गरेको नेताहरूले बताएका थिए । उनी सोही बेला काठमाडौं आएको केही समयमा नै तत्कालीन सत्ता गठबन्धनमा तल–माथि हुने देखिएपछि दिल्ली पुगेर समेत फर्किएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*