एमाले सांसदको प्रश्न : हाम्रो देशको राष्ट्रपति को हुने विदेशीको ट्वीटमा पढ्नुपर्ने ?

जनपत्र
१० फाल्गुन २०७९, बुधबार १४:१२

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले नेपालमा राष्ट्रपति को बन्ने भनेर विदेशीले नाम लिनु लाजमर्दो अवस्था भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले आजसम्म कसैको अधिनमा नरहेको देशको राष्ट्रपति चुनावअघि देखिएको गतिविधि स्वाभाविक नरहेको बताएका हुन् ।

भारतीय विदेश सचिव नेपाल आउँदा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीलाई भेटेको भन्दै उनले विरोध जनाए । ‘यो राष्ट्रिय सम्मानको कुरा हो, के हाम्रो विदेश सचिव जाँदा के यही ढंगको ट्रिट भारतमा पाउँछ ?’ उनले प्रश्न गरे, ‘पाउँदैन भने नेपालले दक्षिण एसियाको आजसम्म कसैको गुलामी नबोकेको आजसम्म स्वतन्त्र रहेको, कहिले पनि पराधिन नरहेको यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने ?’

८ फागुनमा भारतीय वुद्धिजीवि एसडी मुनीले ट्वीटरमा नेपालमा राष्ट्रपतिका लागि योग्य भनेर देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम लिएका थिए । सांसद पन्तले मुनिको उक्त ट्वीटको पनि आलोचना गरे । ‘हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा पूर्वप्रोफेसरले हाम्रा पूर्वराजदूतको नाम, हाम्रा पूर्वसभामुखको नाम, हाम्रा पूर्वअर्थमन्त्री, मानवअधिकारवादी लगायतको तीन चार जनाको नाम यिनीहरु नेपालको राष्ट्रपति हुनको लागि उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छ’ पन्तले भने, ‘कस्तो दिन आयो ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*