‘‘हेटौंडा अस्पतालको आधुनिक र सूविधासम्पन्न भवनको उद्घाटनमा उत्साहितसंगै भावुक भएको छु’’

डोरमणि पौडेल
९ फाल्गुन २०७९, मंगलवार १५:१४

लामो मेहनत, रस्साकस्सी तथा अनेकौं प्रहार र अवरोधका बीचमा आज हामी हेटौंडा अस्पतालको नयाँ आधुनिक र सूविधासम्पन्न भवनको उद्घाटन गर्न गइरहेका छौं । यो खुशीको दिन म उत्साहित अलि कम, भावुक अलि बढी भएको छु । हिजोका दिनमा यस अस्पतालमा कतिपय गम्भीर स्वास्थ्य समस्याहरुको उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाथियो । प्रसुतीगृह थियो आमाका लागि आइसियु, नवजात शिशुका लागि एनआइसियु थिएन ।

अपरेसन गरिएकी आमा यता अस्पतालमा छटपटाइरहेकी हुन्थिन भने शिशु भरतपुर वा काठमाण्डौंको कुनै अस्पतालको एनआइसियुमा राखिनुपथ्र्यौं । कतिपय बिरामी तथा घाइतेहरुको जटिल उपचारहरु हुन नसक्दा बिरामीलाई रिफर गरिएको हुन्थ्यो । तर भनेको बेला एम्बुलेन्स वा अन्य बैकल्पिक साधनहरु उपलब्ध नहुँदा बिरामीहरु आफन्तका आखा सामु मृत्यवरण गर्दा ती आफन्तहरुले गर्ने हीनताबोध र ग्लानीभावहरुको अनुभूती कस्तो हुन्थ्यो होला ?

मध्यमाञ्चल क्षेत्रको सदरमुकाम समेत रहिसकेको र हाल प्रदेशको राजधानी रहेको हेटौंडाको विगतको स्वास्थ्योपचार लगायत स्वास्थ्य सेवा को अवस्था साच्चै नै दयनीय रहेको थियो । आवश्यक उपकरणहरु नभएको सानो भवनमा कम संख्यामा भएका चिकित्सकहरुबाट उपचार गराउनु पर्ने वाध्यताकाबीचमा यस अस्पताललाई रिफर अस्पतालका रुपमा चित्रण गर्ने गरेको तितो यथार्थ अविस्मरणीय नै रहने छ ।

मेडिकल हबको रुपमा विकास हुँदै गएको भरतपुर र देशको केन्द्रीय राजधानी काठमाण्डौंको नजीक हुनुको कारण पनि यो क्षेत्र ओझेलमा परेकोथियो । हुनेखानेका लागि काठमाण्डौं वा भरतपुर सहज विकल्प बनेकाले हेटौंडामै राम्रो अस्पताल बनिनुपर्छ भन्ने आवाज नागरिकस्तर सम्ममै सिमित बन्न पुगेको थियो । यहाँका निम्न वा मध्ययम वर्गका नागरिकहरुको स्वस्थ्य जोखिमको अवस्थामा थियो । यि र यस्ता खालका तितो यथार्थलाई मनन्गर्दै मेरो नेतृत्वमा रहेको तत्कालीन प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा व्यापक सुधार ल्याई स्वास्थ्योपचारमा सबैको सहज पहुँच पर्याउने उद्देश्यले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएको बेहोरा अवगत गराउन चाहान्छु । हाल हेटौंडा अस्पताल उक्त प्रतिष्ठानमातहत सञ्चालन गरिएको छ ।

विगतमा जम्मा ५० शैयाको हेटौंडा अस्पताल हाल २०० बेडको सुविधासम्पन्न अस्पतालमा परिणत भएको छ । यस अस्पतालमा प्रदेश सरकारले प्रारम्भ गरेको अर्को भवन निर्माणाधीन रहेको छ । उक्त भवनको निर्माण पछि अस्पतालको सेवा अझ फराकिलो भई ५०० शैयाको अस्पताल हुनेछ । सम्माननीय राष्ट्रपतिज्यूबाट आज उद्घाटन भएको यस भवन संघीय सरकारको ३० करोडको लागतमा निर्माण सम्पन्न भएको हो । यो भवनको निर्माण पछि अस्पतालले १०० बेड थपेर अस्पताललाई व्यवस्थित र सुविधासम्पन्न बनाएको छ । ३ तले भवनको पहिलो तलामा आकस्मिक सेवा, काउन्टर, ल्याब तथा फार्मेसी सञ्चालन भइरहेको छ भने अन्य तलामा बेडहरु व्यवस्थित गरिएको छ । यो भवन बनेपछि इमरजेन्सी बेड संख्या ८ बाट २४ वटामा वृद्धि भएको छ ।

प्रदेश सरकारले निर्माण प्रारम्भ गरेको ५२ करोड लागतको ६ तले अर्को भवन निर्माणाधीन रहेको छ । उक्त भवन बनिसकेपछि अस्पताललाई ५०० शैयासम्मको बनाउन सकिने भएको छ । यस अस्पतालले नयाँ भवन बन्नुअघि दैनिक ४०० जनालाई मात्रै सेवा प्रदान गर्दै आएकोमा हाल १००० जनाभन्दा बढीलाई दैनिक सेवा दिन थालेको खबरले खुशी लागेको छ । प्रतिष्ठानले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न साविकको हेटौडा अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रूपान्तरण गर्ने काम भइसकेको छ ।

आजको दिनमा यस अस्पतालको विकासक्रममा आएको अर्को अवरोधको पनि चर्चा गर्न चाहान्छु । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्थित बन्ने क्रममा रहेकोथियो भने प्रतिष्ठान मातहत अस्पताल सुविधासम्पन्न बन्दै गइरहेको थियो त्यस्तै स्वास्थ्य क्षेत्रको तीनवटा महत्वपूर्ण विषयहरुको अध्यापन समेत प्रारम्भ भएको अवस्थामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने तथा यहाँको स्वास्थ्य क्षेत्र विगतको जस्तै काम नलाग्ने बनाएर सामान्य उपचारका लागि समेत भरतपुर जानुपर्ने वाध्यता सिर्जना गर्ने असफल प्रयास समेत भएकोथियो । अबका दिनमा त्यस्ता प्रयासहरु नहुन भन्ने हामी चाहान्छौं
इतिहास
म आफू पनि यस क्षेत्रको बासिन्दा भएकोले यसको थोरै यतिहास पनि राख्न चाहान्छु । वि.सं.२०१६ मा १५ बेडको सामान्य अस्पतालबाट शुरु भएको हेटौडा अस्पताल वि.सं.२०२२ सालमा २५ शैयाको जिल्ला अस्पतालको रूपमा परिणत भयो। अस्पतालको विकास गर्न हेटौडा अस्पताल विकास समितिको गठन भई सो समितिमार्फत थप २५ शैया गरी जम्मा ५० शैयाको अस्पताल सञ्चालन भई सेवा प्रदान गर्दै आएको अवस्थामा आर्थिक वर्ष २०६१÷०६२ सालमा मन्त्रीपरिषद्को निर्णयानुसार उप क्षेत्रीय अस्पतालको नाममा नामकरण गरिएको थियो तर सरकारले उप क्षेत्रीय अस्पतालको दरबन्दी पठाउन नसकेको कारण वि.सं. २०७१ असार २० गतेको मन्त्रिपरिषद्को निर्णयले ५० शैयानै कायम गर्यो ।

उपक्षेत्रीय अस्पताल हुन चाहिने न्यूनतमा मापदण्ड, चिकित्सक तथा अन्य कर्मचारीको दरबन्दी थप, स्वास्थ्य सेवामा प्रयोग हुने उपकरणलगायतको व्यवस्थापन हुन नसकेपछि उपक्षेत्रीय अस्पताल पुनः जिल्ला अस्पतालमा नै कायम रहेको थियो । सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखी बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना २०७६ असोज २ गते गरेपछि अस्पतालको परिचय फेरिन लागेका हो । प्रतिष्ठानले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न साविकको हेटौडा अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रूपान्तरण गर्ने प्रक्रियालाई अगाडि बढाई कार्यान्वयनको तहमा गइसकेको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडा भएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठानको आवश्यकता र औचित्य झन बढेको छ । यो मकवानपुरको गौरबको योजना हो भन्ने कुरामा दुईमत छैन यसको वृत्तिविकासले सबैभन्दा धेरै फाइदा मकवानपुरे नागरिकहरुले नै लिने हो । त्यससँगै प्रदेशका अन्य जिल्ला र छिमेकी मधेश प्रदेशका केहि जिल्लाहरुका नागरिकहरुले पनि यस अस्पतालमार्फत सेवा पाइरहेकाछन् । क्रमशः सुविधासम्पन्न बन्दै गएको यस अस्पतालको विकासमा हामी सबैजना लाग्नु अपरिहार्य छ । सँगसँगै अस्पतालको सेवा चुस्तदुरुस्त र गुणस्तरीय हुनु पनि अति आवश्यक छ ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी प्रशासनका कर्मचारी तथा अन्य पदाधिकारीहरुलाई त्यसतर्फ ध्यान दिन म अनुरोध गर्दछु । हुनत अस्पतालका सबै स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरुको अथक प्रयास र न्यून साधनका बाबजुत पनि गरिएका मेहनतका कारण नै अस्पतालले अधिकतम सेवा प्रवाह गर्न सकेको हो भन्ने सत्य हामीले बुझेका छौं । म सबैसबैलाई उहाँहरुको योगदानका लागि धन्यवाद दिन चाहान्छु । त्यस्तै हाम्रो अनुरोधलाई स्वीकार गर्दै अस्पतालको भवनको उद्घाटन समारोहमा उपस्थित भइदिनुभएकोमा सम्माननीय राष्ट्रपतिज्यू प्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्न चाहान्छु ।

(बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पतालको नव निर्मित भवनको उद्घाटन्का क्रममा दिनु भएको मन्तब्य हो ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*