जलवायु परिवर्तन : न वर्षा न हिमपात

जनपत्र
९ फाल्गुन २०७९, मंगलवार १४:२६

मनाङ – यस वर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुन सकेको छैन । यस वर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभई हिमपात नै हुन सकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा कालापत्थर मात्रै देखिन्छ । हिउँले रुझेर यहाँका धुलो हिलाम्मे हुनुपर्ने समय हो । तर हिउँ पर्न सकेन । मनाङमा हिमपात नहुँदा हिमाल कालापत्थर बन्दै गएको छ । हिमपात नभएपछि यहाँ कृषि क्षेत्रमा सिँचाइको अभाव देखिनेछ । पर्याप्त मात्रामा हिमपात भएको अवस्थामा यहाँ उत्पादन वृद्धि हुने गर्दछ । मनाङको तल्लो क्षेत्रमा वर्षा हुने र माथिल्लो क्षेत्रमा भारी हिमपात हुँदा यहाँको उत्पादन फस्टाउने गरेको किसान बताउँछन् ।

मनाङमा यस पटक हिमपात भएको छैन । यस वर्ष बेमौसममा हिमपात भयो । तर हिमपात हुने समयमा भने हिमपात हुन सकेन । मनाङमा गएकाे वर्ष असोज तेस्रो हप्तामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायजसो मङ्सिर अन्तिमदेखि हिमपात हुनुपर्ने हो । हिमपात हुँदा जीवनयापनमा समस्या हुने भएकाले यहाँका स्थानीयवासी चिसो र हिमपात छल्न कात्तिक अन्तिम र मङ्सिर पहिलो हप्ता बेसी झर्ने गर्दछन् । उनीहरू काठमाण्डाै, पोखरा, बेसीसहरलगायतका ठाउँतर्फ जाने गर्दछन् । चिसो छल्न मनाङवासी बेसी झरे पनि हिमपात हुने समयमा यस पटक हिमपात भएन ।

हिमपात नहुँदा किसान चिन्तित

हिमपातले हिउँदेबालीमा सिँचाइ हुने भए पनि नहुँदा सिँचाइको अभाव हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले किसानका लागि समयमै हिमपातको महत्त्व रहेको छ । ‘यहाँको मुख्य बाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । तबमात्र माटो भिज्छ’, ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङ भन्नुहुन्छ, ‘जमिन तातिएपछि हिउँ पर्नाले हिउँको पानी जमिनमुनि नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई असर गर्छ । हिमपात हुनुपर्ने समयमा हिउँ नपर्दा यस वर्ष बाली राम्रो हुने अवस्था नभएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर गर्छ । ‘स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । माघमा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुन पाउँदैन, यस पटक त हिमपात नै भएन’, उहाँले भन्नुभयो । यस पटक उत्पादन नहुने उहाँ बताउनुहुन्छ । ‘हिमाली क्षेत्रमा नै हिउँ परेन अब यहाँ पानीको हाहाकार हुने भयो खेतीबालीलाई, के भएको हो ? अहिलेसम्म यस्तो थाहा पाएका थिएनाैँ’, गुरुङले भन्नुभयो ।

‘मङ्सिरदेखि नै प्रायजसो हिमपात हुन्थ्यो । अहिले माघ महिनाको पनि आधा कटिसक्यो । तैपनि हिउँ परेको छैन’, नासों गाउँपालिका–५ का थुतेन लामाले भन्नुभयो, आकाशमा अलिअलि मात्र बादल लाग्ने गरेको छ । हिउँ पर्ने कुनै छाँटकाँट देखिँदैन । तापक्रम भने निकै घटेर मौसम चिसिएको उहाँले बताउनुभयो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात नभएको बताउनुभयो । कहिलेकाहीँं पानीको छिटा परे पनि हिउँ पर्ने सङ्केत नदेखिएको लामा बताउनुहुन्छ । उहाँका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँ चिसोका कारण यति बेला खाली भए पनि हिमपात भएको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेसी झरिसकेका छन् । मङ्सिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा मतदानपछि सबै बेसी झरेका उहाँले जानकारी दिनुभयो ।

‘समयमा हिउँ नपर्दा खेतीबाली उत्पादनमा ह्रास आउने भयो’, लामाले भन्नुभयो । विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । यस पटक त्यहीअनुसारको व्यवस्था गरिए पनि अहिलेसम्म हिउँ नपरेको उहाँ बताउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गाना खनालले मनाङमा अहिलेसम्म जिल्लामा हिमपात नभएको जानकारी दिनुभयो । माथिल्लो मनाङमा हल्का हिमपात भए पनि आवश्यक मात्रामा हिमपात नभएको उहाँ बताउनुहुन्छ । मनाङमा बस्ती रहेको सबैभन्दा तल्लो क्षेत्र एक हजार सात सय मिटर उचाइमा रहेको तालगाउँमा समेत यसअघि यो समय हिउँ पर्ने गर्दथ्यो । मनाङमा जेठमा फापर रोपिन्छ । चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । मङ्सिर, पुसमा हिउँ परेमात्रै जमिनमुनि चिस्यान पुग्छ र खेतीपाती हुन्छ । तापक्रम बढेपछि पर्ने हिउँ पग्लिएर माथि–माथि नै सुक्ने किसान बताउँछन् ।

चिसोले पूर्वाधार निर्माणमा समस्या

हिमपात नभए पनि यहाँ चिसो बढ्दै गएपछि विकास निर्माणका कार्य गर्न रोकिन्छ । चिसो बढेसँगै माथिल्लो मनाङको पूर्वाधार निर्माणको काम पूर्णरूपमा ठप्प हुन्छ । गएकाे वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएको निर्माणाधीन भौतिक संरचना निर्माणका कार्य अहिले रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, जलविद्युत् लगायतको विकास निर्माणका कार्य रोकिएको पूर्वाधार विकास कार्यालय मनाङका प्रमुख जय विष्टले बताउनुभयो । ‘सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही कार्य निर्माण भइरहेको छ । तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य रोकिएको छ, उहाँले भन्नुभयो । हिमपात नै नभए पनि चिसोले माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न कठिन छ । यहाँको काम वर्षमा जम्माजम्मी तीन महिनामात्रै गर्न पाइन्छ’, विष्टले भन्नुभयो ।

मनाङको मेरुदण्डको रूपमा रहेको चामे–बेसीसहर सडक खण्डको निर्माण कार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उहाँले बताउनुभयो । प्रायजसो मनाङको विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो । यस सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत बर्सेनि बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सरकारले विशेषरूपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । विपदग्रस्त जिल्लालाई समावेश गरेर सङ्घ सरकारमार्फत विपद् व्यवस्थापन विभागबाट तीन करोड १४ लाख रुपैयाँ बजेट विनियोजन भएपछि तालगाउँको संरक्षणका लागि तटबन्ध निर्माणको काम भने भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । मनाङको तिमाङमा २२ करोड रुपैयाँको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सकिने अवस्थामा जाडो मौसमले गर्दा केही ढिलाइ हुने भएको जनाइएको छ ।

हिमाल कालापत्थर

हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नहुँदा पग्लिएर नाङ्गिन थालेका छन् । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यस वर्ष हिमपात हुन नसक्दा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ । पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था आएको छ । हिउँ नपरेपछि यति बेला अन्नपूर्ण दोस्रो, तेस्रो, चाैथो, चलु फरेस्ट, हेम्लुङ, मनास्लु, निलगिरि, तिलिचो पिक, थोराङ पिकलगायतका हिमाल रङ उडेझैँ फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । उहाँका अनुसार समयमा हिमपात नहुँदा जङ्गली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको छ ।

पर्यटक घटे

हिमाली जिल्लामा समेत हिमपात नभएपछि हिउँ खेल्न आउने पर्यटक घटेका छन् । विगतका वर्षमा हिमपात हुनासाथ मनाङ आउने पर्यटक यस वर्ष आउने वातावरण बनेन । ‘हिउँ परे हिमाल सेताम्मे हुन्थे, हिमपातपछि मौसम खुल्थ्यो, अहिले दिनहुँ हुस्सुमात्रै छ, हिमाल पनि हिउँविहीन देखिन थालेका छन्, मौसम यसरी नै बिग्रँदै जाने हो भने हिउँदमा हिमपात नै नहुने हो कि भन्ने कौतुहलता बढेको छ’, पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले भन्नुभयो । गएकाे वर्ष पुस पहिलो हप्ता नै हिमपात भएपछि हिउँ खेल्नका लागि पर्यटकको उल्लेख्य आगमन भएको उहाँले बताउनुभयो । यस वर्ष हिउँ नपरेपछि पर्यटन व्यवसायसमेत प्रभावित बनेको उहाँको गुनासो छ । ‘हिउँ खेल्न पर्यटक खचाखच हुन्थे, हिमपात नभएपछि सबै होटल सुनसान छन्, सुक्खा जाडोका कारण नेपाली पर्यटक पनि घुम्न आउन छाडेका छन्’, उहाँले भन्नुभयो । हिउँ नपरे पनि चिसो भने अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ ।

हिमपात भएपछि भने यहाँका पर्यटकीयस्थलमा पर्यटक भरिभराउ हुने गरेका थिए । जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गली फूलहरूमा पनि देखिन थालेको छ । चैत–वैशाखमा फूल्ने लालीगुराँस यस वर्ष पुसदेखि नै फुलेको देखिएको छ । जङ्गलमा लालीगुराँस पुसमै फुलेपछि स्थानीय अचम्मित बनेका छन् । मौसम परिवर्तन हुँदै गएको छ, भारी वर्षा र भारी चिसोको समस्या हरेक वर्ष बढ्दो छ, पानी र हिउँ समयमा पर्दैन, वनका फूल बेमौसममा फुल्न थालेका छन्, यो नै जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भएको विज्ञहरू बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*