मकवापुरमा जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु
हेटौंडा। मकवापुरमा जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु भएको छ । सोमबार बिहान मकवापुरको मनहरीमा जंगली हात्तिको आक्रमणबाट घाइते बृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तिले मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेकी ६४ बर्षीया राधा अधिकारीलाई आक्रमण गरेको थियो। गम्भीर घाइते उनको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा साझ मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो आइतबार साँझ गाउमा देखिएको हात्तिले अधिकारीलाई सोमबार बिहान करेसावारीमा काम गरिरहेको बेला एक्कासि आक्रमण गरेको थियो।
यसैगरी पर्सा राष्ट्रिय निकुञ्जको पदमपोखरी सेक्टर कार्यालयको जिप तोडफोड भएको छ । सोमबार मनहरी ४ का स्थानीयहरुले ना १ झ ९८८ नम्बरको जिप तोडफोड गरेका हुन् ।
केहि दिन अघिदेखि निकुञ्ज क्षेत्रको जंगली हात्तीले गाउँमा आतंक मच्चाउँदा समेत हात्ती नियन्त्रणमा लिन नसकेको भन्दै आक्रोसित बनेका स्थानीयहरुले जिप तोडफोड गरेका हुन् ।
हात्तीको आक्रमणबाट स्थानीय महिला घाइते भएसँगै आक्रोसित बनेका स्थानीयहरुले निकुञ्जको सवारी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरी ४ र ५ का विभिन्न क्षेत्रमा निकुञ्जको जंगली हात्तीले आतंक मच्चाइरहेको छ । हात्तीले गहुँ बाली, आलु काउली लगाएत तरकारी खेती समेत नष्ट गर्दै आइरहेको छ ।






