मकवानपुरमा बाघपछी हात्तिको आतंकः मनहरीमा हात्तीको आक्रमणबाट वृद्धा घाइते, स्थानीयद्वारा निकुञ्जको जिप तोडफोड
हेटौंडा । मकवानपुरमा बाघको आक्रमणबाट घाँस काट्न गएकी बृद्धा घाइते भएको घटना सेलाउन नपाउँदै फेरी जंगली हात्तिको आक्रमणबाट एक जना घाइते भएका छन् । मकवानपुरका जंगलहरु पनि घना बन्दै जानु र निकुन्ज आसपासका क्षेत्रबाट जंगली जनावर बस्तीमा प्रवेश गर्नुले पनि स्थानीय वासिन्दाहरु थप त्रसित भएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा मनहरी ४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारी रहेकी छन् । सोमबार बिहान घर नजिकै बसिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइते अधिकारीलाई उपचारको लागि हेटौंडा स्थित चुरेहिल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जको पदमपोखरी सेक्टर कार्यालयको जिप तोडफोड भएको छ । सोमबार मनहरी ४ का स्थानीयहरुले ना १ झ ९८८ नम्बरको जिप तोडफोड गरेका हुन् ।
केहि दिन अघिदेखि निकुञ्ज क्षेत्रको जंगली हात्तीले गाउँमा आतंक मच्चाउँदा समेत हात्ती नियन्त्रणमा लिन नसकेको भन्दै आक्रोसित बनेका स्थानीयहरुले जिप तोडफोड गरेका हुन् ।
हात्तीको आक्रमणबाट अधिकारी गम्भीर घाइते भएसँगै आक्रोसित बनेका स्थानीयहरुले निकुञ्जको सवारी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते अधिकारीको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मनहरी ४ र ५ का विभिन्न क्षेत्रमा निकुञ्जको जंगली हात्तीले आतंक मच्चाइरहेको छ । हात्तीले गहुँ बाली, आलु काउली लगाएत तरकारी खेती समेत नष्ट गर्दै आइरहेको छ ।