‘धुलो धुवाँकै कारण छिटै मरिने पो हो कि !’
सिरहा – ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडक खण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहोर्याउनुभयो, ‘स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ’, उहाँले गुनासो गर्दै भन्नुभयो, ‘आँगनका कपडा, भान्साको खाना धुवाँ धुलोबाट जोगाउनै मुस्किल छ ।’
ओखलढुङ्गाबाट सुगम स्थान छानेर १२ वर्षअघि यहाँ आउनुभएकी मैयाँ विकलाई पनि अचेल पछुतो छ । ‘मोटर बाटो पुगेको ठाउँमा जीवन निर्वाह गर्न सहज होला भनेर आइयो तर अहिले पछुतो भइरहेको छ’, उहाँ भन्नुहुन्छ, ‘राम्रोसँग बस्न, खान र स्वास फेर्न पनि पाइएको छैन, तर कसैले बुझ्दैनन् हाम्रो पीडा ।’
सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडक खण्डको स्तरोन्नति नहुँदा यहाँका नागरिकलाई लुगाकपडा, जोहो गरेका खाद्य सामग्री जोगाउन समस्या छ नै, खेतबारीको अन्नबाली तथा तरकारी जोगाउन नि त्यस्तै कष्ट छ । स्थानीय किसान लीलबहादुर तामाङले धुलोले छपक्क ठाकेर बाली नसप्रिने हुँदा कृषि खेती गर्नै नपाएको पीडा सुनाउनुभयो । ‘तरकारी लायो कक्रक्क पर्छ । गहुँ, मकै, कोदोजस्ता बालीनाली पनि सप्रिँदैनन्’, तामाङको भनाइ थियो, ‘दुःखजिलो गरेरै खान मुस्किल छ । यस्तो समस्या कहिलेसम्म भोग्ने ?’
आफ्नै करेसाबारीमा उब्जाएर स्वच्छ तरकारी खाने गृहिणी दिलकुमारी विश्वकर्माको रहर पनि अधुरै छ । जीर्ण सडकमा दैनिक आहोरदोहोर गर्ने गाडीले उडाएको धुँवा धुलोजस्तै उहाँको रहर पनि उडेको उड्यै छ तर समस्याको समाधान कहिले हुने हो टुङ्गो छैन । सडकबाट उडेको धुलोले जता हेर्यो त्यत्तै सेताम्य । त्यो धुँवा धुलोले भोग्नुपरेका देखिने समस्या त छन् नै तर नदेखिने समस्या त झनै विकराल छन् । ७० वर्षीया चिनीमाया तामाङ यसको उदाहरण हुनुहुन्छ । उहाँ लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त हुनुहुन्छ । ‘सडक आएपछि खुसी आउलाजस्तो लागेको थियो तर दुःख लिएर आयो’, चिनीमायाले भन्नुभयो, ‘समस्या समाधान हुँदैन, धुलो धुवाँकै कारण छिटै मरिने पो हो कि !’
नगर अस्पताल कटारीका निर्देशक (मेडिकल सुपरिन्टेन्डेन्ट) डा. गौरव शाहले धुवाँ धुलोले नागरिकको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताउनुभयो । श्वासप्रश्वास, मुटुरोग, दम, खोकी, घाँटी दुख्ने, छाती दुख्ने र रुघाखोकीजस्ता समस्या लिएर अस्पताल आउनेको सङ्ख्या बढिरहेको उहाँको भनाइ छ । संविधानले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरे पनि त्यसको प्रत्याभूति हुने गरी सडक स्तरोन्नति गर्नुपर्ने डा. शाह जोड दिनुहुन्छ ।
स्थानीय गृहिणी, किसान, युवा, वृद्धवृद्धाले सुनाएजस्तै पीडा यहाँका विद्यार्थीका पनि छन् । कटारी–८ मा रहेको माध्यमिक विद्यालय पट्नाभञ्ज्याङ कक्षा १० मा अध्ययनरत छात्रा सञ्जु तामाङले विद्यालय आउँदा–जाँदा सडकको धुवाँ धुलोले दैनिक कपडा फोहर हुने हुँदा विद्यालय आउनै समस्या रहेको बताउनुभयो । ‘सुकाएकै ठाउँमा धुलो लागिसकेको हुन्छ, टकटकाएर लगायो, फर्किँदा फेरि उस्तै हुन्छ’, सञ्जुको दुःखेसो छ, ‘कहिले एसईई दिएर बाहिर पढ्न जाउँला र यो समस्याबाट छुटकारा पाइएलाजस्तो भइसक्यो ।’ सरस्वती मावि कटारी–११ का प्रधानाध्यापक दिनेश रायले सडकको स्तरोन्नति नहुँदा विद्यालयको पठनपाठन प्रभावित भइरहेको बताउनुभयो । ‘अरू ठाउँमा राजमार्ग वा सडक नजिक भएको विद्यालय राम्रो मानिन्छ तर हाम्रो यहाँ सडककै कारण समस्या छ । प्रदूषणले विद्यार्थीको शिक्षा र स्वास्थ्यमा गम्भीर असर परिरहेको छ’, प्रधानाध्यापक राय भन्नुहुन्छ, ‘लगाएको पोसाक फोहर हुने, दिनहुँको धुवाँ धुलोले रुघाखोकी लाग्ने, घाँटी र छाती दुख्नेजस्ता समस्याले विद्यार्थी नियमित हुँदैनन् । विद्यालयको पठनपाठन नै प्रभावित भइरहेको छ ।’
सडक स्तरोन्नतिका लागि स्थानीयवासीले गुहार मागिरहेको पनि वर्षौँ भइसक्यो । पालिका, प्रदेश र सङ्घीय प्रतिनिधिलाई भन्नेदेखि सडकमा चक्काजाम गर्नेसम्मका सबै उपाय अपनाए पनि समाधान नभएको उहाँहरूको भनाइ छ । ‘वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा सधैँ सास्तीमात्रै पाइयो’, कटारी–११ का स्थानीय रेवती राउतले भन्नुभयो । यो समस्याका बारेमा यहाँका स्थानीय जनप्रतिनिधि र सांसदहरूलाई जानकारी भए पनि चुनावी मुद्दाबाहेक केही बनाउन नसकेकामा आक्रोश पोख्नुभयो ।
उदयपुरको कटारी बजार आफैँमा ऐतिहासिक ठाउँ पनि हो । तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथा चढ्न यही बजार हुँदै पैदल गएको हुनाले कटारीलाई सगरमाथाको प्रवेशद्वार पनि भन्ने गरिन्छ । यही बजार क्षेत्र पर्ने सडकको स्तरोन्नतिमा ध्यान नदिँदा हरेक नागरिकजस्तै व्यापारी, व्यवसायीले पनि सास्ती भोग्नुपरेको उदयपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुस्कर खड्काले बताउनुभयो । उहाँले सडकका कारण ढुवानी लागत बढ्न गई मूल्यवृद्धिको समस्या निरन्तर बढिरहेको धारणा राख्नुभयो ।
विसं २०३४ मै सिरहाको मिर्चैयाबाट उत्तरतर्फ उदयपुरको कटारीसम्म २६ किमी ट्र्याक जोडिएको थियो । नेपाली कांग्रेसका नेता स्व. बलबहादुर राईको पहलमा २०४८ सालमा कटारीदेखि ओखलढुङ्गा सदरमुकामसम्म सडक निर्माण सुरु भएको थियो । युगकवि सिद्धिचरण श्रेष्ठको नाम दिइएको यस सडकको ४६ किमी कटारी–घुर्मी खण्डमा २०५८ सालदेखि गाडी सञ्चालन पनि भयो । तर ट्र्याक खुलेको २० वर्ष बितिसक्दा पनि अवस्था भने उस्तै छ । घुर्मीदेखि ओखलढुङ्गासम्मको सडक धेरै पहिले कालोपत्र भइसके पनि ७२ किमी लामो मिर्चैया–कटारी–घुर्मी खण्डमा भने सुधारको आशातित पहल भएन । यसले गर्दा दुई घण्टा पनि नलाग्ने यो दुरीमा अहिले पाँच घण्टाभन्दा बढी समय लगाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासीको बाध्यता छ ।
सडकको स्तरोन्नति तथा पुनर्निर्माणका लागि सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र उदयपुरका सांसदले कुरा नउठाएका पनि होइनन् । संविधान सभा सदस्य भेषकुमारी राउतले संसदमा आवाज उठेका कारण सरकारको नीति तथा कार्यक्रममा र बजेटमा योजना पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सयौँ पटक एक्लै वा संयुक्तरूपमा ठूला नेता, सरोकारवाला र विभागीय मन्त्रीलाई पनि सडक स्तरोन्नतिको माग राख्यौँ तर आश्वासनमात्र पाइयो, ठोस निर्णय हुन सकेन । यो विडम्बनापूर्ण हो ।’
प्रतिनिधि सभा सांसद अम्बरराज रायमाझीले भने सडकलाई उच्च प्राथमिकतामा राखेर आफूहरूले पहल गरिरहेकाले अब छिट्टै यसको स्वरूप बदलिने बताउनुभयो । उहाँले पूर्वी नेपालका जिल्ला र मधेस प्रदेशलाई सगरमाथासँग जोड्ने एकमात्र छोटो दुरीको यो राजमार्ग निर्माणका लागि सबैको सकारात्मक पहलको जरुरी रहेको पनि बताउनुभयो । ‘यो सडक स्तरोन्नतिका लागि सरोकारवालासँग पटक–पटक छलफल भएको छ’, रायमाझीले भन्नुभयो, ‘त्यसैको परिणाम यो पटक झन्डै ६० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो रकम थोरै भए पनि अब समयमै काम सुरु गर्नुपर्छ ।’
कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले पनि चार लेन सडकका लागि दायाँबायाँ १५/१५ मिटर लागत कट्टा भइसकेकाले अब भने सडक स्तरोन्नतिको काम अगाडि बढ्ने विश्वास जागेको बताउनुभयो । सडक डिभिजन कार्यालय कटारीका प्रमुख केशव ओझाले केही दिनअघि मात्रै सडक स्तरोन्नतिका लागि यस आर्थिक वर्षमा प्राप्त कुल ५९ करोड ८८ लाख रुपैयाँका लागि बोलपत्र आह्वान भइसकेकाले अब चाँडै काम सुरु भई अहिले देखिएका समस्या समाधान हुने बताउनुभयो । उहाँले मिर्चैया–कटारी–घुर्मी सडक खण्डका लागि केन्द्रीय योजनाअन्तर्गत कुल १० अर्ब रुपैयाँको लागत अनुमानसहितको प्रस्ताव पठाइएको र यो आर्थिक वर्षका लागि मात्र पौने चार अर्ब रुपैयाँ रकम अर्थ मन्त्रालयसँग माग गरिएको बताउनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ८० करोड रुपैयाँ ‘फ्रिज’ भएको देखेका यहाँका नागरिक सडक स्तरोन्नतिका लागि ठेक्का लागे पनि अझै आश्वस्त छैनन् । ‘सडक बन्छ–बन्छ भनेर आश्वासन पाएको त वर्षौँ भइसक्यो, अब त विश्वास गर्न पनि गाह्रो छ’; स्थानीयवासी लक्ष्मी तामाङले भन्नुभयो, ‘यो पटक के हुन्छ हेरौँ । स्वच्छ श्वास फेर्न अब त पाइएला कि ?’