फागुनको पहिलो सातामै गर्मीको अनुभव
यो वर्ष हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ ।
नेपालजस्तै दक्षिण एसियाका अन्य मुलुकमा पनि हिउँद नसकिँदै गर्मीको राप बढ्न थालेको त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा। विनोद पोखरेलले बताएका छन् । पोखरेल भन्छन्– ‘भारतका विभिन्न प्रान्तमा यतिखेर तातो वायुको चाप बढ्दै छ, कतिपय स्थानमा चैत, वैशाखमा हुनुपर्ने ४० डिग्री सेल्सियस आसपासको तापक्रम अहिले पुगेको छ ।’
राजस्थानलगायत मरुभूमिले छोएका स्थानमा तातो वायु र हावा एकैसाथ बहन थालेको बताउँदै उनले यसको असर नेपालमा एक÷दुई दिनयता बढेको गर्मीले आभास गराएको दावी गरेका छन् ।
नेपालमा हिउँदे याम सकिन अब करिब एक साता मात्र बाँकी छ । यस्तोमा बिस्तारै गर्मी बढ्दै जानु पर्नेमा ह्वात्तै उतार–चढाव आउने गरी गर्मीको राप बढ्नु राम्रो नभएको पोखरेल औँल्याउँछन् ।
यस्तो छ आजको मौसम
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू्–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ ।
भारतसँगै दक्षिण एसियाका पाकिस्तान, बङ्गलादेश, भुटानलगायतका देशमा पनि तातो वायुको असर देखिन थालेको छ ।
श्रीलङ्कामा भने अन्यत्रका तुलनामा वर्षा राम्रो भएको छ । त्यसकारण गर्मीको प्रभाव बिस्तारै अग्रसर हुँदैछ ।
पोखरेलका अनुसार विश्व मौसम सङ्गठन र अमेरिकाको मौसम सङ्गठनको मौसमी विश्लेषणले पनि दक्षिण एसियामा अबको एक सातासम्म तातो वायुको प्रभाव बढ्ने औंल्याएको छ ।
भारतमा तातो वायु बढ्ने र हावाहुरी आउने समय एकैसाथ परेकाले त्यो वायुसँगै उच्च प्रदूषणसहितको वायु नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ ।
नेपालमा वर्षा नहुँदाको अवस्थामा ठूला सहरमा यतिखेर आन्तरिक प्रदूषणको चाप त्यसै बढी छ । त्यसमाथि भारतबाट हावाहुरीसाथ आउने तातो वायु र प्रदूषणले यहाँको वातावरण झन् दूषित हुने पोखरेलको ठम्याइ छ । उनी भन्छन् – ‘सुक्खा र तातो हावा वहनुमा समुद्रमा हाई प्रेसर सिर्जना हुनु हो, यसले पानी पार्ने वातावरण नष्ट गर्दा वातावरण सुक्खा गराउँछ र तातो हावाको बहाव बढाउँछ ।’
हिउँदमा वर्षा गराउने प्रणाली प्रशान्त महासागरमा विकसित हुन्छ । तर त्यो विगत तीन वर्षदेखि लानिनोको स्थितिमा छ । वर्षा हुन एलनिनोको स्थितिमा हुनुपर्छ । गत वर्ष केही परिवर्तन भए पनि सन् २०२१ मा यस वर्ष जस्तैको अवस्था रहँदा हिउँदे वर्षा नभएर सुक्खासँगै खडेरी परेको थियो । यस वर्ष पनि त्यही अवस्था दोहोरिएकाले अबका दिनमा वायु प्रदूषणसँगै डढेलो र आगलागीका घटनामा वृद्धि हुने सम्भावना झन् बढेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिउँदे वर्षाको सम्भावना टर्दै गएको बताएको छ । मौसमविद् राजु प्रधानाङका अनुसार प्रशान्त महासागरमा जलवाष्पयुक्त प्रणाली विकसित नभई, हल्का वाफयुक्त हावा मात्र विकसित भएका छन् । त्यसले पश्चिमी वायुसँगै हावा नेपालमा ल्याए पनि वर्षा ल्याएको छैन ।
हालसालै अत्यधिक तापक्रम नबढे पनि अबका दिनमा तापक्रम बढ्दै जाने प्रवृत्ति केही छिटो देखिएको उनले प्रस्ट्याएका छन् । अब बिस्तारै प्रि मनसुनको मौसम आउने भएकाले सुक्खा र गर्मी झन् बढ्छ । त्यसमाथि हिउँदे वर्षा नै नभएकाले गर्मी अलि बढी हुनु स्वाभाविक रहेको उनको भनाइ रहेको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।