वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने : तीन महिनाभित्र अत्याधुनिक सेवा सञ्चालन गर्ने तयारी

जनपत्र
६ फाल्गुन २०७९, शनिबार ११:४२

काठमाण्डाै – वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष अर्थात् ‘बर्न वार्ड’ सञ्चालन गरिने भएको छ । २०७२ साल वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई समेत उपचार नगरि अरु अस्पतालमा रेफर गर्ने गरिएको थियो ।

ग्यास चुहिएर घाइते भएका सांसद एवम् नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको नेपालमा उपचार सम्भव नहुँदा भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा लगेपछि सञ्चारमाध्यमले देशभित्र जलनको उपचार हुन नसकिरहेको अवस्थालाई प्राथमिकता साथ उठाएका छन् ।

वीर अस्पतालको नयाँ कार्यकारी निर्देशकमा हिजो डा. सन्तोष पौडेल नियुक्त भएसँगै उहाँले नयाँ बनेको सर्जिकल भवनमा अत्याधुनिक बर्न वार्ड बनाउने निर्णय गर्नुभएको हाे । अबको तीन महिनाभित्र जलनको उपचारका लागि अत्याधुनिक उपचार कक्ष सुरु गर्ने उहाँको भनाइ छ ।

अत्याधुनिक जलन वार्ड निर्माणपछि गम्भीर बिरामीलाई पनि वीर अस्पतालमै भर्ना गरी उपचार गरिनेछ । क्रिटिकल बर्नका बिरामीका लागि केयर, अप्रेसन थिएटर, आईसीयूलगायतका सुविधासहित उपचार हुने उहाँको भनाइ छ । वीरको बर्न वार्ड बन्द हुँदा अहिले जलनसम्बन्धी बिरामीको उपचार कीर्तिपुर अस्पतालमा हुँदै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*