मन्त्री किराँतीलाई पाेखरेली व्यवसायीकाे प्रश्न : कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान ?

जनपत्र
५ फाल्गुन २०७९, शुक्रबार १४:१६

 

कास्की – पोखराका पर्यटन व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरुले मन्त्रीसमक्ष यस्ताे आग्रह गरेका हुन् ।

व्यवसायीहरुले मन्त्री किराँतीसँग अन्तर्राष्ट्रिय उडानका लागि सङ्घीय सरकारकाे पहल, उडान सुरु हुन नसक्नुकाे कारण लगायतका विषयमा प्रश्न गरेका हुन् । गएकाे १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म पनि अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन ।

मन्त्री किराँतीले पोखराको सुन्दरताको वर्णन गर्दै अन्तर्राष्ट्रिय उडानका लागि आफूले पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले पोखरा उत्कृष्ट गन्तव्य र पर्यटनको विश्वविद्यालय नै भएकाले यसको विकासमा आफूले निकै चासो दिएको बताउँदै अन्तर्राष्ट्रिय उडानका विषयमा आफूले प्रक्रिया बुझेर कार्य अघि बढाउने जानकारी दिनुभयो । मन्त्री किराँतीले पर्यटन व्यवसायीका जिज्ञासा समाधान गर्न आफू सकारात्मक भएको जनाउँदै जिम्मेवारी र कर्तव्य बुझ्ने नेतृत्वको अभावमा यस्ता समस्या बग्रेल्ती देखिएकाले सुधारको आवश्यकता रहेको बताउनुभयो ।

त्यसैगरी पर्यटन  व्यवसायीले नेपाल पर्यटन बोर्डको कार्यविधि नबनेकाले पर्यटन प्रवर्द्धनमा विनियोजित रकम खर्च हुन नसकेको विषयमा पनि प्रश्न उठाएका छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन प्रवर्द्धनका लागि लागि बेर्ड सदस्यहरूबाट पूर्वाधार विकासका एजेन्डा प्रस्तुत हुन नसकेको गुनासो गर्नुभयो  ।

पर्यटन व्यवसायी गणेश भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्न हतारिएको तर आवश्यक गृहकार्य पूरा नभएको  बताउनुभयो  । उहाँले  अन्तर्राष्ट्रियले उडान हुन नसक्दा  धेरै प्रश्नहरु उठ्न थालेको जनाउँदै सङ्घीय सरकारलाई यथाशक्य पहल गर्न आग्रह गनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख काशिराम भण्डारीले आफूलाई कार्यविधि नबनी रकम निकासा गर्ने अधिकार नभएकाले प्रवर्द्धनका लागि विनियोजित रकम खर्चगर्न  समस्या भएको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै उत्साहित भए पनि अन्तर्राष्ट्रिय उडान सुरु हुन नसक्दा निराश भएको बताउनुभयो । योसँगै सरकारको स्पष्ट पर्यटन नीति नहुनु र ठूलो लगानी भएको पर्यटन क्षेत्र वित्तीय संस्थाको चर्को ब्याजदर र दबाबले थप समस्या सिर्जना गरेको बताउनुभयो ।

राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले पर्यटन विकासका लागि अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।  उहाँले पर्यटक लक्षित गतिविधि र गन्तव्यका लागि नयाँनयाँ सोच र  विकासको खोजी आवश्यक रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*