राष्ट्रपतिमा माओवादीले सघाए प्रचण्डलाई पूर्ण कार्यकाल प्रधानमन्त्री बन्न दिने कांग्रेसको सङ्केत

जनपत्र
५ फाल्गुन २०७९, शुक्रबार १३:५७

काठमाण्डाै – नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वीकार्ने सङ्केत दिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारूढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि पाँच वर्ष नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने जिकिर गर्नुभयाे । उहाँले संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्त्वपूर्ण भएको बताउनुभयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता महतले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भए पनि राष्ट्रिय सहमतिका लागि सत्तारूढ दल नेकपा एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरू एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रपति नेपाली कांग्रेसको हुने वा नहुने भन्ने कुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने कुरा प्रमुख रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुन्छ । एमाले पार्टी र यसका नेता केपी शर्मा ओलीजीले जसरी संसद्को पहिलाे बैठकमा नै संसद् विघटनको विषयलाई मूल विषय बनाउनुभयो, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्त्वपूर्ण भएको छ । नेकपा (माओवादी केन्द्र) र यसको नेता प्रधानमन्त्री प्रचण्डजी त्यस बेलामा संविधानको रक्षाको विषय नै प्रमुख विषय बनाएर नेपाली कांग्रेसकाे नेतृत्वमा गठबन्धन बनेको थियाे । अहिले पनि त्यो विषय हाम्रा लागि प्रमुख विषय हो भनेर प्रचण्डजीले भन्नुभएको छ । त्यसै आधारमा नेपाली कांग्रेसले विश्वासको मत दिएको हो । नेपाली कांग्रेसको राष्ट्रपति हुने वा नहुने भन्ने विषयमा मात्रै यो विषय सीमित छैन । संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने विषय छ ।’

कुराकानीकै क्रममा प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्णकालका लागि निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आउँदा दिनमा यस्ता गतिविधि दोहोरिन नहुने बताउनुभयो ।

प्रवक्ता महतले सबैभन्दा ठूलो दल बनेर सत्ताबाहिर बस्नु कांग्रेसका लागि विडम्बनाकाे विषय भएको उल्लेख गर्दै अहिलेको सत्ता गठबन्धन स्वार्थ केन्द्रित रहेको आराेप लगाउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*