उपभोग्य म्याद नाघेका २७ सय कार्टुन बियर जफत

काठमाण्डाै – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य म्याद नाघेका २७ सय कार्टुन बियर जफत गरेको छ ।
विभिन्न क्षेत्रमा गरेको अनुगमनको क्रममा सुरक्षित उपभोग्य अवधि सकिएको बियर बरामद गरेको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिनुभयो । जफत गरेको वियरको बजार मूल्य ८० लाख रुपैयाँ बराबर रहेको उहाँले बताउनुभयो । दुई दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेको जनाएको छ ।
बजार अनुगमनका क्रममा विभिन्न ब्रान्डका बियर बरामद गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलवार काठमाण्डाैकाे धुम्बाराहीमा रहेकाे याक ब्ररुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ कम्पनीका तीन वटा गोदाममा भण्डारण गरिएको २१ सय कार्टुन बियर नियन्त्रणमा लिइएको थियो । यस्तै बुधवार सिनामङ्गलमा रहेको संस्कार ट्रेडर्स प्रालिले गौह्रिगाउँमा रहेकाे गोदाममा भण्डारण गरेको तीन सय ५५ कार्टुन बियर बरामद गरिएको थियाे । बुधवार नै विभागले सिनामङ्गलकै सिके ट्रेडिङ प्रालिको गोदाममा भण्डारण गरिएका उपभोग्य मिति सकिएका तीन सय दुई कार्टुन बियर बरामद गरेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।
विभागले विज्ञप्ति निकालेर म्याद गुज्रिएको बियर बिक्री गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । विभागले भोजभत्तेर तथा कतिपय रात्रिकालीन रेस्टुरेन्ट व्यवसायमा उपभोग्य अवधि सकिएका गुणस्तरहीन बियर लगायतका जाँड–रक्सीको कारोबार हुनसक्ने भन्दै सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।
यसैगरी विभागले वस्तुको अनैतिक कारोबार भएको थाहा पाएमा टोल फ्री नम्बर ११३७ वा अनलाइन उजुरी तथा गुनासो पोर्टलमा गई उजुरी गर्नसमेत अनुरोध गरेको छ ।