ग्यास सिलिण्डर विस्फोटमा घाइते हरिकला भण्डारीको निधन
काठमाण्डाै – खाना पकाउने ग्यास सिलिण्डर विस्फाेटबाट घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएको छ । उपचारका क्रममा बिहान ११ बजे हरिकलाको निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ । हरिकला ८६ वर्षको हुनुहुन्थ्यो । अस्पतालका अनुसार उहाँको शरीरको ७० प्रतिशत भाग जलेको थियो ।
ग्यास विस्फाेटबाट घाइते भएका सांसद भण्डारीलाई भने थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । डाक्टरको सल्लाहअनुसार भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको उहाँका स्वकीय सचिव भुवन भुसालले जानकारी दिनुभयो ।
काठमाण्डौको बुद्धनगरमा रहेको घरमा गएराति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा जलेर घाइते हुनुभएको हो । उहाँहरुलाई राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । ग्यास लिक भएपछि सिलिण्डर विस्फाेट भएको प्रहरीले जनाएको छ ।