नवनियुक्त तीन कुलपतिद्वारा शपथ ग्रहण : सङ्गीत तथा नाट्यमा निशा शर्मा, प्रज्ञामा भूपाल राई र ललितकलामा नारदमणि हार्तम्छाली
काठमाण्डाै – नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गराउनुभएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई, उपकुलपतिमा कवि विमल निभा, सदस्य सचिवमा प्रा.डा. धनप्रसाद सुवेदी नियुक्त हुनुभएको छ । यस्तै, प्राज्ञहरूमा मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त हुनुभएको छ । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।
यसैगरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नारदमणि हार्तम्छाली, उपकुलपतिमा लालकाजी लामा, परिषद् सदस्यमा पाल्साब्मो लामा, प्रदीप अधिकारी (सुसान्त), सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा र अरुणा हिबमाब नियुक्त हुनुभएको छ । यस्तै सचिवमा देवेन्द्रकुमार काफ्ले नियुक्त हुनुभएको छ ।
यसैगरी, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा निशा शर्मा, उपकुलपतिमा शम्भु राई, सचिवमा कुस्मा महरा नियुक्त हुनुभएको छ । यस्तै, परिषद् सदस्यमा कर्णबहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसनबहादुर मगर, टीका पुन, चेतन सापकोटा हुनुहुन्छ । उहाँहरुलाई सरकारले हिजो नियुक्त गरेको हो ।