स्कटल्यान्डले जित्यो विश्वकप लिग–२ को उपाधि

जनपत्र
४ फाल्गुन २०७९, बिहीबार ०८:१२

स्कटल्यान्डले बुधबार नामिबियामाथि १० विकेटको रबाफिलो जितसहित पहिलो संस्करणको विश्वकप लिग–२ च्याम्पियन भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा १५४ रनको सामान्य लक्ष्य २२.१ ओभरमा बिनाविकेट पूरा गर्दै स्कटल्यान्ड तीन खेल अगावै सात राष्ट्र सम्मिलित विश्वकप लिग–२ च्याम्पियन भयो। स्कटल्यान्डको जितमा जर्ज मुन्सेले ६१ बलमा आक्रामक सतकीय इनिङ खेले। दोस्रो स्थानको ओमानसँग चार अंकको अग्रता लिँदै स्कटल्यान्ड च्याम्पियन बन्यो। ओमानले लिगको ३६ खेल पूरा गरिसकेको छ भने तेस्रो स्थानको नामिबियाको ३२ खेलबाट ३७ अंक छ। उपाधि दाबेदार नामिबियामाथि जितसँगै अंकतालिकामा ११ अंकको अग्रता बनाएपछि स्कटल्यान्ड च्याम्पियन भयो।

लिग–२ को शीर्ष तीन स्थानमा रहने राष्ट्रले २०२३ को विश्वकप छनोटमा सीधा स्थान बनाउनेछन्। सन् २०१७ मा नेदरल्यान्ड्सले विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको थियो। त्यो सफलताले डच टोलीलाई शीर्ष राष्ट्रले खेल्ने एकदिवसीय क्रिकेटमा पु¥यायो। साथै नेदरल्यान्ड्सले एसोसिएट राष्ट्रका रूपमा विश्वकप सुपर लिगमा खेल्ने अवसर पनि पायो। स्कटल्यान्डले सुपर लिगको पुछारका पाँच टोली र प्लेअफबाट छनोट भएका दुई टोलीसहित विश्वकप छनोट खेल्नेछ। स्कटल्यान्डका बलर र ब्याटरले उत्कृष्ट प्रदर्शन गरे। टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले छैटौं ओभरमा नै पहिलो विकेट गुमाउन पुग्यो।

स्कटल्यान्डका मार्क वाटले कार्ल बिर्केनस्टकलाई ४ रनमै आउट गरे। नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाउँदा १५३ रन मात्र जोड्यो। नामिबियाका ओपनर लो हेन्डर लोवरेन्सले ८८ बलमा पाँच चौकासहित ५४ रन जोडे। मध्य क्रमका जेन ग्रिनले २५ रन र तल्लो क्रमका बर्नाड स्कल्चले ३० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन। नेपालविरुद्ध सतक बनाएका मिकेल भान ४ रनमै आउट भए। नामिबियालाई सस्तैमा समेट्न स्कटल्यान्डका लियस्कले सर्वाधिक चार विकेट तथा मार्क वाट र सफियान सरिफले समान तीन विकेट लिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*