सहमतिसँगै पछि हटे यातायात मजदुर

जनपत्र
३ फाल्गुन २०७९, बुधबार ०७:४०

सरकारसँग पाँचबुँदे सहमति गरेपछि यातायात मजदुरले मंगलबार आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन्।

यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेल विरोधका सबै कार्यक्रम स्थगन गर्न आन्दोलनरत पक्ष सहमत भएको हो। उनीहरू सार्वजनिक यातायात हडतालका कार्यक्रमसहित आन्दोलित भएका थिए। त्यसपछि मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता भएको थियो।

उपत्यकाबाट बाहिर सञ्चालन हुने सवारी साधनका सम्बन्धमा उठेका विषयका सम्बन्धमा माघ २९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेल यातायात नियमित सञ्चालनको व्यवस्थापनका लागि सम्बद्ध निकायलाई अनुरोध गर्ने सहमति वार्तामा भएको हो।

गोंगबु नयाँ बसपार्कमा सोमबार प्रदर्शनकारीले गरेको कार्यक्रममा भएको घटना दुःखपूर्ण रहेको भनिएको छ। लुटपाट तथा आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमति भएको छ। यस्तै आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष व्यक्तिलाई तत्काल रिहाइ गर्ने सहमति पनि भएको छ।
यातायात क्षेत्र सुधार गर्न माघ ११ गते उच्चस्तरीय यातायात सुधार सुझावका लागि कार्यदल गठन भएकाले सो कार्यदलले यातायातसँग सरोकार राख्ने सबै सम्बद्ध पक्षसँग छलफल गरी सुझाव लिने, माघ २९ मा गठित यातायात सुधार कार्यदलमा सरोकारवाला सम्बद्ध महासंघ, संघ र संगठनका प्रतिनिधिहरूलाई आवश्यकताअनुसार आमन्त्रण गर्ने सहमतिपत्रमा उल्लेख छ।

काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच गोंगबुस्थित नयाँ बसपार्कका लागि भएको सम्झौताका सम्बन्धमा काठमाडौं महानगरपालिकाबाट प्राप्त प्रतिवेदन अध्ययन गर्ने सम्झौतापत्रमा उल्लेख छ। ‘काठमाडौं महानगरपालिकाले यसको अनुगमन गर्ने साथै उक्त प्रालि, महानगरपालिका र सम्बद्ध मजदुर संघसंगठन र यातायात व्यवसायी महासंघबीच छलफल गर्ने र यसको संयोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने’, सम्झौतापत्रमा लेखिएको छ।’

यातायात मजदुरको हडतालका क्रममा गोंगबु बसपार्कस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट भएको थियो। नेपाल मोबाइल व्यवसायी महासंघले उक्त घटनामा ८ देखि १० करोड रुपैयाँबराबरको क्षति भएको दाबी गरेको छ। महासंघका अध्यक्ष भरत भट्टराईले मोबाइल पसल लुटपाट र तोडफोडको क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेका छन्।

महासंघका उपाध्यक्षसमेत रहेका पसल सञ्चालक अर्जुन चालिसेले प्रदर्शनका क्रममा आफ्नो पसलबाट ८ देखि १० करोड रुपैयाँको क्षति भएको बताए। यो आन्दोलनरत पक्ष र राज्यले बेहोर्नुपर्ने उनको भनाइ छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता हिमालय श्रेष्ठले बालाजुमा भएको प्रदर्शनमा १२ प्रहरी घाइते भएका बताए। प्रहरीका दुई गाडी प्रदर्शनकारीले जलाएका थिए। लुटपाटमा संलग्न १२ जना प्रहरी नियन्त्रणमा छन्। उनीहरूको अनुसन्धान भइरहेको छ। अन्नपुर्णबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*