मजदुर नेतालाई सरकारले बार्तामा बोलायो, समस्या समाधानको प्रयास हुने
सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा आउन आग्रह गरेको छ । आज दुई पक्षबीच वार्ता हुने विश्वास गरिएको छ । आजै बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाइएको यातायात विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए ।
ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार दिनभरी काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीको गाडीमा तोडफोड र आगजनी गरेका थिए । माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोस्ट भत्काइदिएका थिए ।
दिनभरजसो दुई पक्षबीच झडप र तनाव भएको थियो । सो क्षेत्रमा यातायातका साधन चल्न पाएका थिएनन् । प्रहरीले ज्यादती गरेको भन्दै यातायात मजदुरले आज मंगलबार पनि उपत्यकामा सार्वजनिक सवारी साधन चल्न नदिने बताएका छन् । नागरिकलाई सास्ती नहोस् भनेर वार्ता मार्फत समस्या समाधान खोज्न विभागले आग्रह गरेको छ ।
माग पूरा नभएसम्म आजदेखि काठमाडौं उपत्यकाका सवारीसाधन बन्द गर्ने चेतावनी मजदुरले हिजो राति नै दिएका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले विज्ञप्ति जारी गर्दै त्यस्तो चेतावनी दिएका छन् ।






