थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपाली पक्षले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ । नेपाल बाहिरबाट आउने जहाज सिमरा हुँदै मात्र भित्रिन पाउने भएकाले थप प्रवेशमार्गको अनुमतिका लागि भारतलाई आग्रह गरिएको हो ।
काठमाडौंमा सोमबार परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीचको भेटवार्तामा अतिरिक्त हवाई प्रवेशमार्गको विषय उठ्दा क्वात्राले भने जवाफ दिन नचाहेको परराष्ट्र स्रोतले जनाएको छ । बैठकपछि भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा पनि हवाई प्रवेश मार्गका विषयमा उल्लेख छैन ।
सोमबार बिहान नेपाल आइपुगेका विदेश सचिव क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच एक घण्टाभन्दा बढी छलफल भएको थियो । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्यालको नेतृत्वमा दक्षिण एसिया महाशाखाका रामप्रसाद सुवेदीसहित ७ जना थिए । भारतका तर्फबाट सचिव क्वात्राको नेतृत्वमा राजदूत नवीन श्रीवास्तवसहित ७ जना थिए ।
बैकमा सीमाका विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । ‘यस सम्बन्ध ९सीमा० बाँकी रहेको काम पूरा गर्ने विषयमा विचार आदानप्रदान भएको छ । स्थापित द्विपक्षीय संयन्त्रहरूमार्फत सीमा मामिलालाई समाधान गर्नुपर्ने विषयमा छलफल भयो,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा छलफल भयो वा भएन भन्नेबारेमा प्रस्ट पारिएको छैन । समग्र सीमा मामिला समाधानमाथि कुरा भएको परराष्ट्र स्रोतले जनाएको छ । भारतीय दूतावासको विज्ञप्तिमा भने सीमाबारे छलफल भएको उल्लेख छैन ।
पछिल्लो पटक परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक गत भदौ २८ र २९ मा नयाँदिल्लीमा बसेको थियो । त्यति बेला दुई पक्षबीच सीमा सम्बन्धमा पनि कुरा भएको नेपालका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख थियो । त्यस बेला लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र र सुस्ताका सम्बन्धमा छलफल भएरनभएको खुलाइएको थिएन ।
भारतले लिपुलेकसम्मकै नेपाली भूमि समेटेर २०७६ कात्तिकमा नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै कूटनीतिक वार्ताका लागि आग्रह गरेको थियो । तर पटक–पटकको आग्रहलाई भारतले नमानेपछि नेपालले २०७७ जेठ ७ मा लिम्पियाधुरासम्मकै भूभाग समेटेर नयाँ नक्सा जारी गर्यो । नेपाली भूभाग नक्सामा परे पनि प्रयोग भारतले गर्दै आएको छ । दुवै तर्फबाट जारी नक्साका कारण चिसिएको सम्बन्धलाई सौहार्द बनाउन नेपाल र भारत प्रयासरत छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय बैठकमा नेपाल–भारत सम्बन्ध, कनेक्टिभिटी, व्यापार र पारवहन, ऊर्जा क्षेत्र, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्रलगायत विषयमा समीक्षा भएको छ । रेलमार्ग, प्रसारण लाइन, पुल र एकीकृत सुरक्षा जाँच चौकीमा भएको प्रगति पनि सन्तोषजनक रहेको दुवै पक्षको समीक्षा रहेको छ ।
परराष्ट्र सचिव पौड्यालले नेपालतर्फ रासायनिक मल, खाद्यान्नको निर्यातलाई खुकुलो बनाइदिएकामा र डायलसिस मेसिनहरू उपलब्ध गराएको विषयमा भारतलाई धन्यवाद दिएका छन् । दुवै पक्ष पारवहन सन्धि नवीकरण, व्यापार सन्धिको समीक्षा र व्यापारसम्बन्धी अन्तरसरकारी समितिको बैठक सकेसम्म छिटो गर्न पनि सहमत भएका छन् । नेपालबाट विद्युत् निर्यातका विषयमा पनि छलफल भएको छ । दुई मुलुकबीच सीमापार प्रसारण लाइनको प्राविधिक स्तरोन्नति चाँडो गर्ने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सेवाका दुई थिंकट्यांकबीचको समझदारीपत्रलाई अन्तिम रूप दिने सहमति भएको छ ।
क्वात्रा भेटवार्तामा व्यस्त
भारतीय विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री विमला पौड्याल राई, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारीसँग शीतल निवास पुगेर क्वात्राले शिष्टाचार भेटवार्ता गरेका थिए । उक्त अवसरमा सचिव क्वात्राले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूका तर्फबाट शुभकामना सन्देश पनि व्यक्त गरेका थिए । क्वात्राले बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग नेपाल–भारत सहकार्यका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री दाहाललाई क्वात्राले भारत भ्रमणको निम्तोसमेत दिएका परराष्ट्र स्रोतले जनाएको छ ।
परराष्ट्र सचिवस्तरीय वार्ता सक्नेबित्तिकै सिंहदरबारमा पुगेर सचिव क्वात्राले परराष्ट्रमन्त्री पौड्यालसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उनीहरूबीच द्विपक्षीय सहयोग र विकास सहायता अभिवृद्धिका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री पौड्यालले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई मार्गको विषयसमेत उठाएकी थिइन् ।
कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव क्वात्राबीचको भेटवार्तामा पारस्परिक हित र दुई मुलुकको सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो । एमाले अध्यक्ष ओलीसँग भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धमाथि कुराकानी भएको थियो ।इकान्तीपुरबाट