अर्थतन्त्र सुधार्न कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । उहाँले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगहरूलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा पहिलो कृषि नै हो । कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगहरूतिर जोड दिने एउटा अभियानतिर देशलाई लैजान सकिएन भने आत्मनिर्भरता हुने या अर्थतन्त्रमा सुधार गर्ने अन्य उपायहरू सहायक नै हुन्छन् । कृषिमा सुधार, त्यसका लागि चाहिने अन्य आवश्यक प्रविधि, ज्ञान, सिपको विकास नै प्राथमिकतामा पर्नुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक विकासको निम्ति सङ्घीय संरचनालाई सुदृढ गर्न जरुरी रहेको बताउनुभयो । उहाँले संविधानले परिकल्पना गरेअनुसार सङ्घीय संरचना चलाउने ऐन नै नबनाइकन सङ्घीयता उपयुक्त भएन भन्ने निष्कर्ष निकाल्न नहुने जिकिर गर्नुभयाे । नागरिकलाई अधिकार सम्पन्न बनाउनेतिर ध्यान जान जरुरी रहेको भन्दै नागरिकमा गएको अधिकार खोस्नु दुर्भाग्यपूर्ण हुने उहाँकाे भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले आफूले अहिले देशको अर्थतन्त्र सुधारको विषयलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।