मकवानपुरमा लोप हुँदै हलो र गोरु, खेत जोत्न ट्याक्टरको प्रयोग
हेटौंडा । मकवानपुर जिल्लामा आधुनिक कृषि उपकरण र प्रविधिको प्रयोग बढेसँगै हलो र गोरु लोप हुन थालेका छन् । जिल्लाका किसानहरुले खेतबारी जोत्न छिटा छरितोे, सजिलो र भरपर्दो यन्त्र हाते ट्याक्टरको प्रयोग गर्न थालेसँगै हलो र गोरु लोप हुन थालेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका संगै सबै स्थानीय तहमा खेत, बारी जोत्नका लागि ट्याक्टरको प्रयोग गर्न थालेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले किसानका लागि अनुदानमा ठुला र हाते ट्याक्टरहरु अनुदानमा दिन थालेपछी हलो र गोरु विस्थापित हुन थालेका हुन् । अहिले ट्याक्टरमा माध्यमले खेतबारी जोत्नका पाएकोमा मकवानपुरगढी गाउँपालिकाका किसान श्याम सापकोटा खुसी हुनुहुन्छ ।
आधुनिक प्रविधि भित्रिएसँगै जिल्लाको अधिकांश स्थानमा हलो र गोरुको प्रयोग हुन छाडेको छ । परम्परागत कृषि कर्ममा सर्वाधिक प्रयोग हुने हलो र गोरुलाई हिजोआज हाते ट्याक्टरले विस्थापित गरिदिएको कृषि प्राविधिकहरु वताउँछन् ।
आधुनिक प्रविधिको प्रयोगले कृषिमा लागत कम लाग्ने र उत्पादन बढी हुने हुँदा किसानहरु त्यसतर्फ आर्कषित हुदै गएका छन् । पहिले खेतबारी जोत्नका लागि हलो र गोरुको प्रयोग सर्वाधिक हुन्थ्यो । त्यो अहिले निकै झन्झटिलो र खर्चिलो भएको छ । अहिले कम खर्चमा विनाझन्झटको छिटो काम हुने हाते ट्याक्टरको प्रयोग व्यापक हुन थालेको छ । यसले किसानलाई निकै फाइदा भएको छ ।
खेतबारी जोत्न, दाइँ गर्न र विभिन्न कृषिको कामको लागि गोरु आवश्यक पर्ने भए पनि अहिले टूयाक्टर, हाते ट्र्याक्टरले विस्थापित गरिदिएको छ । आधुनिक उपकरणको प्रयोगले कृषि प्रणालीलाई छिटोछरितो र उत्पादनमुखी बनाउन थालेको कृषि विकास निर्देशनालय हेटौंडाका कर्मचारीहरु वताउँछन् । कम जनशक्तिले थोरै समयमा काम सकिने र आवश्यकता अनुसार जस्तो ठाउँमा पनि प्रयोग गर्न सकिने हुँदा हातेट्याक्टरप्रति किसानहरु आकर्षित भएका हुन् । किसानले हाते ट्याक्टरको प्रयोगले कृषि कर्म सहज बनेको बताउँछन् ।
खेतबारी जोत्ने बेलामा हलो र गोरु खोज्नु पर्ने झन्झटबाट मुक्ति मिल्दा खुशी पनि लागेको किसानहरु वताउँछन् । गोरु पाल्न छाडेर होला अहिले गोरुको मूल्य एक लाख रुपियाँ पर्न थाल्यो । हलो बनाउने सिप लोप हुँदै जाँदा हलो पनि पाइँदैन । स्थानीय सरकारले कृषि उत्पादन बढाउन भन्दै आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गरेपछि गाउँमा प्रविधिको बढेको किसानहरु बताउँछन् ।






