हिमालयन डिष्टिलरीको नाफामा गिरावट, ईपीएस ३६.७२ रुपैयाँले घट्यो

जनपत्र
२९ माघ २०७९, आईतवार ०७:०४

हिमालयन डिष्टिलरी लिमिटेडले चालुु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्मा कम्पनीले २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६।४१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड २७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १८ प्रतिशतले घटेर २ अर्ब ७६ करोड ८१ लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ३ अर्ब ३७ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफामा दबाव पुगेको हो।

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ६० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । हिमालयनले ६० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ पुर्‍याएको छ ।

त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा ६४ करोड ७१ लाखबाट घटेर ४२ करोड ४६ लाख रूपैयाँ पुगेको छ ।

कम्पनीको खुद नाफा संगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७२ पैसाले घटेर २४ रुपैयाँ २२ पैसामा झरेको छ । समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*