सङ्खुवासभामा सामान्य वर्षापछि चिसो बढ्यो

जनपत्र
२८ माघ २०७९, शनिबार १३:५३

सङ्खुवासभा – हिमाली जिल्ला सङ्खुवासभामा यसअघि सामान्य चिसो भए पनि माघ अन्तिम हप्ता भने चिसो बढेको छ ।

बिहीवारदेखि सामान्य वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेको हो । शुक्रवार र शनिवार सदरमुकाम खाँदबारी आसपासको क्षेत्रमा समेत जनजीवन कष्टकर बनेको छ । चिसोका कारण मानिसहरु प्रभावित बनेका छन् ।

चिसोले बाहिर हिँडडुल गर्न नै समस्या भएको चिचिला गाउँपालिका–१ चिचिलाका स्थानीय ज्येष्ठ नागरिक दिप्तीप्रसाद काफ्लेले बताउनुभयो । उहाँले गर्मी लाग्ने समयमा पानी परेपछि ह्वात्तै चिसो बढेको बताउनुभयो । ‘बिहीवारदेखि चिसो र हिमपात भएपछि घर भित्रबाट बाहिर निस्कन सक्ने अवस्था छैन । दाउरा बालेर आगो तापेर बस्नु बाहेक अर्को विकल्प छैन् । मानिसहरुको आवातजावात ठप्प छ,’ काफ्लेले भन्नुभयो ।

चिसोले सबैभन्दा बढि बालबालिका, वृद्धवृद्धा, गर्भवती, दैनिक ज्याला मजदुरी गर्नेहरु र दमका रोगीहरु प्रभावित बनेका छन् । जिल्लाको उच्च हिमाली क्षेत्रहरु भोटखोला गाउँपालिकाको किमाथांका, हटिया, चेपुवा, हुङहुङ र मकालुको सेदुवा, माङसिमा लगायतका ठाउँहरुमा हिमपात भएपछि चिसो ह्वात्तै बढेको हो ।

हिमपातका कारण सर्वसाधारणहरुलाई दैनिकीमा समस्या हुनाका साथै आममानिसहरुलाई हिँडडुल गर्न र पशुचौपायालाई घाँसपानी गर्न समस्या भएको स्थानीय छेदार भोटेले बताउनुभयो । उहाँले मानिसहरु घरभित्र आगो तापेर बस्ने गरेको बताउँदै गाईवस्तु, पशुचौपायाको बिजोग भएको बताउनुभयो ।

त्यसैगरी जिल्लाको सिलिचोङ गाउँपालिका, सभापोखरी गाउँपालिकाको सभापोखरी, पावा लगायतका क्षेत्रमा समेत हिमपात भएको छ । भने सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे—मिल्के—जलजले (टिएमजे) क्षेत्रमा समेत बाक्लो हिमपातसँगै चिसो बढेको छ ।

जिल्लाको सदरमुकाम खाँदबारी आसपासका क्षेत्रहरुमा केहीदिन अगाडि देखि लगातार रुपमा बाक्लो हुस्सु र पानी परेकाले चिसो ह्वात्तै बढेको छ । हुस्सु र वर्षातले मानिसहरु घरभित्रबाट बाहिर निस्किएका छैनन् । खाँदबारी बजार र आसपासका क्षेत्रहरु सुनसान प्रायः बनेको छ । होटल, लज, व्यापार व्यवसाय समेत चलेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*