जुम्लामा सुविधासम्पन्न रंगशाला बन्दै

जनपत्र
२८ माघ २०७९, शनिबार ०७:४१

चन्दननाथ नगरपालिका–५ स्थित राजासीममा सुविधासम्पन्न फुटबल रंगशाला निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले करिब ५० करोड रुपैयाँको लगानीमा फुटबल रंगशाला बनाउन लागेको हो ।

जुम्लाको राजासीममा बन्ने फुटबल रंगशालाको डीपीआर । तस्बिर स् कान्तिपुर
राजासीममा अहिले धावक हरिबहादुर रोकायाको पहलमा कच्ची मैदान बनेको छ । तर वर्षायाममा हिलो र हिउँदमा धूलोमा अभ्यास गर्नुपर्ने बाध्यता छ । त्यस्तै केही समय हिमपातका कारण पनि अभ्यास गर्न नै समस्या हुने गरेको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका सवइन्जिनियर चन्दबहादुर खड्काले राजासीममा बन्न लागेको रंगशाला कर्णाली प्रदेशकै नमुना हुने बताए । उनका अनुसार रंगशालाको टेन्डरसमेत आह्वान भइसकेको छ । ‘एक महिनाभित्र मूल्यांकनको काम सकिन्छ, त्यसपछि निर्माणका अरू प्रक्रिया सुरु हुनेछन्,’ उनले भने, ‘५० करोड लगानीमध्ये १३ करोड रुपैयाँको काम यसै वर्ष सुरु हुनेछ ।’ उनले ३७ करोड रुपैयाँको लगानीमा रंगशाला बाहिरका संरचनाहरू निर्माण हुने जानकारी दिए । उनका अनुसार २ वर्षभित्र रंगशाला निर्माणको सबै कामसक्ने गरी टेन्डर आह्वान गरिएको हो ।

आयोजनाका अनुसार रंगशालाभित्र ११ वटा संरचना बन्नेछन् । जसमा इन्डोरका सबै खेलहरू र आउटडोरका फुटबल, भलिबल, एथलेटिक्सलगायतका प्रतियोगिता हुनेगरी रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला करिब १० हजार दर्शक अट्ने क्षमताको हुने आयोजनाले जनाएको छ । रानीतालमा पार्क निर्माण, नगरपालिकाको भवनअगाडि सटर, जुम्ला बजारमा ढुंगा छाप्नेलगायत काम हुने सवइन्जिनियर खड्काले बताए । सघन सहरी विकास कार्यक्रमअन्तर्गत नै डोल्पाको ठूली भेरी नगरपालिकामा २५ करोड लागतमा रंगशाला निर्माणको काम पनि यसै वर्ष सुरु हुने उनले जानकारी दिए ।

जुम्लामा सुविधायुक्त रंगशाला निर्माण हुने भएपछि खेलाडी पनि उत्साही भएका छन् । कीर्तिमानी धावक हरिबहादुर रोकायाले अब दुई वर्षपछि नियमित अभ्यासका लागि भोग्दै आएका समस्याहरूको अन्त्य हुने अपेक्षा गरिएको बताए । ‘धूलो माटोमा अभ्यास गराउनुपर्ने, मैदान अभावमा प्रतियोगिता आयोजना गर्नबाटै वञ्चित हुनुपर्ने बाध्यताबाट अब जुम्लाले मुक्ति पाउने भयो,’ उनले। भने, ‘खेल मैदान नहुँदा प्रतिभाशाली र राम्रा खेलाडीसमेत पलायन हुने समस्या अब हल हुने भयो ।’ अहिले जुम्लामा आयोजना हुने फुटबल प्रतियोगिता नेपाली सेनाको टुँडिखेल मैदानमा खेलाउनुपर्ने बाध्यता छ ।

जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढ्थापाले स्थानीय फुटबल खेलाडीले वर्षौंदेखि खेप्नुपरेको खेल मैदानको अभाव अब हट्ने बताए । ‘कपडाको मोजाको फुटबल बनाएर फुटबलको अभ्यास गरेका जुम्लाका दुई दर्जन खेलाडीले राष्ट्रिय प्रतियोगितामा आफूलाई सहभागी बनाइसकेका छन्,’ उनले भने, ‘अब रंगशाला निर्माणले फुटबल खेलको दायरा झनै फराकिलो हुने देखियो, अब हामी झन् राम्रा र उत्कृष्ट खेलाडी उत्पादन गर्न सक्छौं ।’ उनले रंगशाला निर्माणसँगै दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल पनि जुम्लामा सञ्चालन गर्न सकिने बताए ।इकान्तीपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*