त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण गरिँदै
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका–९ त्रिशूली बजारमा रहेकाे २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ । २०२३ सालदेखि सञ्चालनमा रहेको विद्युतगृहका उपकरणहरु पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको हाे ।
करिब ७५ करोड रुपैयाँ अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत्, विद्युतगृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणहरुलाई आधुनिक तथा स्वचालित बनाइने छ। करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनर्स्थापनाको काम सुरु गरिएको छ । साथै, जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ । अहिले यही बाइपास नहरमार्फत् विद्युत् उत्पादन भइरहेको छ । नहर सञ्चालनमा रहेकोले विद्युत् उत्पादन बन्द नगरि जलाशयमा भरिहेको माटो, बालुवा निकाल्ने काम जारी छ ।
गएकाे वैशाखदेखि सुरु भएको जलाशयको पुनर्स्थापना यही फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । विद्युतगृहलाई स्वचालित बनाउने काम भने एक वर्षभित्रमा सम्पन्न हुने छ । यसका लागि ठेक्का सम्झौता भइ केही उपकरणहरु उत्पादनको क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरु केन्द्रस्थलमा आपूर्ति भइसकेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुनर्स्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएको छ ।
जलाशयको पुनर्स्थापना भएपछि विद्युतगृहलाई विद्युतकाे माग बढी हुने समय (पिक) मा दैनिक रुपमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिने छ । हिउँदमा पिकिङको लागि पाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिने छ । वर्षायाममा जलाशयलाई प्रयोगमा नल्याइने, खहरे खोलाहरुबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा, माटो भरिन नपाउने उल्लेख गर्दै केन्द्र प्रमुख बाबुराजा महर्जनले यसले गर्दा जलाशयको सञ्चित क्षमता गुम्न नपाउने बताउनुभयो ।
विदुर नगरपालिकाले जलाशय वरिपरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना तयार गरेको छ । जलाशयमा डुंगा चलाउने, खाली जग्गामा पैदलमार्ग तथा बगैँचा निर्माण गर्नेलगायतका योजना नगरपालिकाको छ ।