वर्षा र हिमपात कम भएपछि डढेलोको जोखिम बढ्दै
नेपालमा डढेलोको जोखिम सामान्यतया फागुनको मध्यदेखि सुरु हुन्छ । तर यस वर्ष गएको पुषको मध्यदेखि अहिलेसम्म देशभरमा तीन सय ५० भन्दा धेरै ठाउँमा डढेलो लागिसकेको छ । रामेछाप लगायतका कतिपय ठाउँमा ठूलो क्षेत्रको जङ्गल जलेर नष्ट भएको छ ।
यसपालिको हिउँमा वर्षा र हिमपात निकै कम भएको छ । पश्चिमी क्षेत्रमा केही वर्षा र हिमपात भए पनि मध्य र पूर्वी क्षेत्रमा हिउँदे वर्षा भएकै छैन । यसपालि हिउँदमा पछिल्लो ३० वर्ष यताकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ । हिउँदयामको बाँकी समयमा पनि औसतमा कम पानी पर्ने सम्भावना रहेको जलवायुविज्ञ डा. धर्मराज उप्रेती बताउनुहुन्छ ।
लामो खडेरीको प्रभाव धेरैतिर परेको छ । खेतीबाली सुक्न थालेको छ । मुहानमा पानी घट्दै छ । प्रदुषण बढेको छ । हिमालहरु कालो देखिन थालेका छन् । डढेलोको जोखिम पनि बढेको छ । सुख्खासँगै डढेलोको जोखिम उच्च बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माले बताउनुभयो ।
डढेलोमा परेर १ सय १९ जनाको निधन
नेपालमा डढेलोका कारण बितेको १५ वर्षमा एक सय १९ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलोविज्ञ सुन्दर शर्माले संकलन गर्नुभएको तथ्याङ्क अनुसार सन् २००५ देखि २०२२ सम्मको अवधिमा डढेलोमा परेर एक सय १९ जनाको ज्यान गएको हो ।
सन् २००९ मा एकै वर्ष डढेलोमा परेर ४९ जनाको ज्यान गएको थियो । यस्तै औसतमा बर्सेनि ६ जना घाइते भएका छन् भने डढेलो बस्तीमा पुगेर औसतमा बर्सेनि ८२ वटा घर जल्ने गरेका छन् । सन् २०१० मा एकै वर्ष डढेलो बस्तीमा पुग्दा तीन सय ७६ वटा घर जलेका थिए ।
सन् २०१६ मा नेपालमा सात हजार ७ सय ६७ वटा डढेलोका घटना भएका छन् । यी तथ्यांक हेर्दा नेपाल डढेलोको प्रकोपका आधारमा उच्च जोखिममा रहेको देखिन्छ । अघिल्लो वर्ष डढेलोको घटना कम भएको र लामो खडेरीका कारण यो वर्ष डढेलेको जोखिम अझै धेरै बढेको विज्ञहरु बताउँछन् ।
सबैजसो कारण मानवीय
नेपालमा हुने सबैजसो डढेलो मानवीय कारणबाटै हुने गरेको छ । कतै जानीजानी त कतै लापरबाही गर्दा मान्छेकै कारण जङ्गलमा डढेलो सल्किने गरेको पाइएको डढेलोविज्ञ शर्मा बताउनुहुन्छ । उहाँका अनुसार झण्डै ६५ प्रतिशत डढेलको घटना त मानिसले जानी जानी लगाएको आगोका कारण हुने गरेको छ । जसमा घाँस पलाउने आशामा जङ्गलमा आगो लगाउने र त्यो फैलने गरेको पाइएको छ ।
यस्तै काठ तथा वन्यजन्तु तस्करी लगायतका कारण पनि मानिसले जानीजानी जङ्गलमा डढेलो लगाउने गरेको पाइएको छ । ३२ प्रतिशत घटनाहरु असावधानी अर्थात् दुर्घटनावस हुने गरेको पाइएको छ । लापरबाहीका घटनामा चुरोट सुर्तीका ठूला आगो ननिभाइ फ्याक्नु, बालबालिकाले आगो बाल्नु, जङ्गल छेउमा विभिन्न प्रयोजनका लागि बालेको आगो ननिभाइ हिँड्नु लगायतका रहेका छन् । चार प्रतिशत डढेलोको कारण नै पत्ता लागेको छैन ।