अर्की उच्च तहकी अमेरिकी कूटनीतिज्ञ पनि नेपाल आउँदै
काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट नेपालमा तीन सातामा तीन महत्वपूर्ण भ्रमण हुँदैछन् । यो संयोग नै हुनुपर्छ, नेपालमा महिला परराष्ट्रमन्त्री नियुक्त भएयताका यी तीन उच्च तहका अमेरिकी भ्रमण नेतृत्वकर्ता सबै महिला नै छन् ।
आगामी फेब्रुअरी १४ मा नेपाल आउन लागेकी अफ्रिन अख्तर अमेरिकाकी डेपुटी असिस्टेन्ट सेक्रेटरी अफ स्टेट हुन् । उनी दुई दिने भ्रमणका लागि काठमाडौंमा हुनेछिन् । उच्च तहको स्रोतका अनुसार उनले कूटनीति र सार्वजनिक क्षेत्र तथा विकास सहायता परियोजनाकै प्रगतिमा चासो राख्नेछिन् ।
यो समाचार लेख्दै गर्दा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर नेपालको दुई दिने भ्रमणमा छिन् । युसएआईडीको वक्तव्य अनुसार उनले अमेरिकी सहायता प्रतिबद्धतालाई अझै बढावा दिँदै सम्बन्ध सुधारको सन्देश दिनेछिन् ।
सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावलको भ्रमणपछिकै यो उच्च तहको भ्रमण हो । सामन्था अमेरिकाको क्याबिनेट तहकी अधिकारीमात्रै नभई त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्की सदस्य समेत हुन् । त्यस अर्थमा यो आसन्न भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।