नेपाल टेलिकमका ग्राहक दुई करोड १३ लाख बढी
नेपाल टेलिकम माघ २२ गते आइतबारदेखि २०औं वर्षमा प्रवेश गरेको छ । यो अवधिमा नेपाल टेलिकममा आवद्ध हुने ग्राहकको संख्या दुई करोड १३ लाखभन्दा बढी पुगेको छ ।
चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकअनुसार पिएसटिएन सेवातर्फ चार लाख ५५ हजार ग्राहक रहेका छन् भने आर्थिक वर्ष २०७८र०७९ मा कम्पनीको कुल राजस्व ४४ अर्ब ३७ करोड र खुद नाफा आठ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । फोरजी प्रयोगकर्ताको संख्या एक करोड १५ लाख ५० हजार पुगेको छ । नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ ।
नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित विशेष समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै टेलिकम सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिइन् । प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको माग दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । विगतका सरकारले अघि सारेको घर–घरमा इन्टरनेट र हात–हातमा मोबाइलको महत्वाकांक्षी नाराले सार्थकता पाएको भन्दै उनले आगामी दिनमा आफ्नै भू–उपग्रह स्थापना गरी सेवा दिने लक्ष्य लिनुपर्ने बताइन् ।
समारोहमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताए । कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटिटिएच सेवा देशव्यापी विस्तार गरिरहेको उनको भनाइ छ । फोरजी नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र नयाँ प्रविधिका रूपमा इ–सिमकार्डको देशव्यापी वितरण गरिरहेको पनि उनले जानकारी गराए ।
कम्पनीका प्रबन्ध निर्देशक पौडेलका अनुसार मध्यपहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य तीव्रगतिमा अघि बढाएको र सो क्षेत्रमा हालसम्म एक हजार तीन सय २६ किलोमिटर फाइबर बिछ्याउने कार्य सम्पन्न भएको छ ।
कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा डिजिटल नेपाल निर्माणको आवधारणा कार्यान्वयनको लागि सूचना महामार्ग निर्माण गर्ने जिम्मेवारी समेत बोकेको नेपाल टेलिकमले यसतर्फ अझ गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । उनले नेपाल टेलिकम पूर्वाधारमा अत्यन्त धनी भएको उल्लेख गर्दै राजश्व बढाउनका लागि यसको सदुपयोग हुनुपर्ने सुझाव पनि दिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरी राख्नुपर्ने दायित्वलाई दृष्टिगत गरी सेवा निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताए ।
यसैबीच कम्पनीले वार्षिकोत्सवका अवसरमा एनटी एनिभर्सरी नामक अफर ल्याएको छ । अफरअन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनका लागि २० जिबी डाटा, ९८ रुपैयाँमा तीन दिनका लागि छ जिबी डाटा र ४९ रुपैयाँमा एक दिनका लागि एक एमबिपिएस डाटा अन नेट एक सय २० मिनेट कल सुविधा रहेका छन् ।
त्यस्तै, दुई सयदेखि चार सय ९९ रुपैयाँ रिचार्ज गर्दा दुई जिबी बोनस डाटा, दैनिक एक जिबी प्रयोग गर्न सकिने तथा पाँच सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा दैनिक दुई जिबीका दरले चार दिनसम्म प्रयोग गर्न सकिने अफर रहेका छन् । यी अफरहरु आगामी माघ २९ गतेसम्म उपलब्ध हुनेछ ।
नयाँ एफटिटिएच जडान गर्ने ग्राहकका लागि १२ हजारमा २० एमबिपिएस डाटा, पाँच लाइन टेलिफोन र एउटा एनटिटिभीसहितको प्याकेज रहेका छन् । यो अफर फागुन २९ गतेसम्म रहने छ ।
वार्षिकोत्सवकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारी र सामुदायिक विद्यालय, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थल, वसपार्क, एयरपोर्ट, अस्पताल लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरु, वृद्धाश्रम र बाल आश्रमहरु, आमा समूहहरु, दैवी प्रकोपबाट प्रभावित सर्वसाधारणहरुलाई कम्पनीका तर्फबाट सहयोग गर्ने कार्यक्रमहरु रहेका पनि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले बताए ।
यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक, वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीज्यूलाई सम्मान–पत्र र कम्पनीका विभिन्न सेवाहरु निशुल्क उपलब्ध गराउनुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै, कम्पनीको १९औं वार्षिकोत्सवको अवसर पारेर कम्पनीद्वारा फाइभजीको परीक्षणको शुरुवात समेत गरिएको छ । विभिन्न मोबाइल सेट निर्माता कम्पनीहरुसँग उक्त कम्पनीहरुको सेटमा फाइभजी परीक्षण गर्नको लागि समन्वय भइरहेको छ ।